प्रधानमन्त्री भारत पुगेपछि प्रेम आले र रवि लामिछाने पनि उतै उडे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो ३ बजेको समयमा नयाँ दिल्ली पुग्नुभएको छ । एक सयभन्दा बढी सदस्य रहेको प्रतिनिधिमण्डलका साथ उहाँ भारतको चार दिने भ्रमणमा निस्कनुभएको हो ।
हिजो उहाँसँग नेपाली प्रतिनिधिमण्डल बसेको होटल मौर्यमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले भेटवार्ता गरेका थिए । सो अवसरमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा पनि उपस्थित थिए । नेपालको तर्फबाट टोलीमा परराष्ट्रमन्त्रीलगायत, मुख्य सचिव, सचिव र उच्च सरकारी अधिकारीहरु भएपनि भेटवार्तामा प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल मात्रै उपस्थित रहेको बताइन्छ ।
हिजै राति प्रधानमन्त्री दाहाल नेपाली राजदूत डा. शंकर शर्माले राजदूतावासमा आयोजना गरेको स्वागत तथा रात्रिभोजमा सहभागी हुनुभएको थियो ।
यता, काठमाडौंबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले साँझ साढे ६ बजे नयाँ दिल्ली पुगेको स्रोतको दाबी छ । पूर्वमन्त्री आले भिस्तारा एअरको उडान नम्बर युके १५६ मा काठमाडौंबाट साँझ सवा ५ बजे प्रस्थान गर्नुभएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
हिजै साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पनि एकाएकत भारत गएका हुन् । उनी श्रीमती निकिता पौडेलसहित साढे ६ बजे मुम्बई गएको बताइन्छ । लामिछाने नेपाल वायुुसेवा निगमको उडान नम्बर आरए २०१ मा मुम्बई गएका हुन् ।
टिप्पणीहरू