नागरिकता विधेयकमा रवि लामिछाने - कन्टेनमा मौन, प्रक्रियाको विरोध

नागरिकता विधेयकमा रवि लामिछाने - कन्टेनमा मौन, प्रक्रियाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरण संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध भएको बताएका छन् । 

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका लामिछानेले नयाँ संसद बनेको छ महिनापछि पुरानै संसदले ल्याएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको मर्यादा विपरीतको कार्य भएको उल्लेख गरेका छन् ।

‘नयाँ जनादेशबाट संसद बनेको छ महिना भइसक्दा पनि छलफल नगराई यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ,’ उनले लेखेका छन् ।

विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति असन्तुष्टी जनाएका लामिछानेले विधेयकको अन्तरबस्तुबारे भने कुनै टिप्पणी गरेका छैनन् । 

महन्थ ठाकुरहरुलाई खुशी बनाएर आफू नेतृत्वको सरकार टिकाउन तत्कालीन समयमा नागरिकता अध्यादेश ल्याएको एमालेलगायतका प्रतिपक्षी दलहरुले विधेयक प्रमाणीकरण गरेकोमा विरोध प्रकट गरिरहँदा सत्तापक्षले भने समर्थन गरेको छ । नागरिक तहबाट पनि  यसबारे मिश्रित धारणा सार्वजनिक भैरहेको छ।

टिप्पणीहरू