मन्त्रिपरिषदमा लामिछानेले बोल्नेबारे चर्चा

मन्त्रिपरिषदमा लामिछानेले बोल्नेबारे चर्चा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेले आजको संसद बैठकमा बोल्न पाउने बताउनुभएको छ । 

आजको क्याबिनेट बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई सोबारे जानकारी गराउनुभएको हो । साथै उहाँले आज अपरान्ह ४ बजे बस्ने संसद बैठक सहज ढंगले अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलेसंसद अवरुद्ध गर्दै आएको छ । काँग्रेस सांसदहरुले लामिछानेलाई संसद बैठकमा बोल्न पनि दिएका छैनन् । 

जेठ १५ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दबाबमा पर्नुभएका प्रधानमन्त्रीले संसदको गत्यारोध अन्त्यको पहल गरिरहनु भएको छ । त्यसैक्रममा काँग्रेसका शीर्ष नेताहरुसँग उहाँको निरन्तर संवाद भइरहेको छ । 

सहमति जुटाउनकै लागि बिहान ११ बजे बोलाइएको संसद बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । लामिछानेलाई आज संसदमा बोल्न दिन काँग्रेस तयार भएको प्रधानमन्त्रीले क्याबिनेट बैठकमा ब्रिफिङ गर्नुभएको एकजना मन्त्रीले जानकारी दिए ।
बुझिएअनुसार बैठकमा पहिले गृहमन्त्रीले बोल्ने त्यसपछि काँग्रेस सांसदले आफ्ना कुरा राख्ने र समिति गठनको प्रक्रिया शुरु गर्ने सहमति जुटेको छ ।

टिप्पणीहरू