नगद राहतको जस लिन नेताहरुको तछाँडमछाड

नगद राहतको जस लिन नेताहरुको तछाँडमछाड

जुरे पहिरो पीडितहरुले नौ वर्षपछि राहत प्राप्त गरेपछि त्यसको जस लिन अहिले सिन्धुपाल्चोकका नेताहरुबीच तँछाडमछाड भएको छ । 

२०७१ साउन १७ गते सिन्धुपाल्चोक मांखास्थित जुरेको सिङ्गो पहाड खसेर तल्लोभागको गाउँ नै पुरिएको थियो । पहिरोमा १४२ जनाको ज्यान गएको थियो भने सयौं विस्थापित भएका थिए । झण्डै १८ घण्टा सुनकोसी नदी थुनियो भने करोडौंको धनमाल क्षति भएको थियो ।

सोहीसमयमा जनस्तरबाट पहिरो पीडितका लागि तत्कालीन दैवीप्रकोप व्यवस्थापन समितिको खातामा दुई करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ जम्मा भएको थियो । सोही रकम जेठ २ गते वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सुकुटेमा एक कार्यक्रमबीच पीडितहरुको खातामा जम्मा हुनेगरी प्रभावित क्षेत्र बलेफी, सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष र बाह्रबिसे नगरपालिकाका मेयरलाई एकुमष्ट चेक हस्तान्तरण गरेका हुन् ।

जनप्रतिनिधिहरुले प्राप्त गरेको उक्त चेकको रकम पीडितको खातामा सोझै जम्मा हुने भएपनि बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले भने पीडितहरुलाई जम्मा पार्दै आफ्नो भगीरथ प्रयत्नले राहत पाउन सफल भएको बताए । उनले चेक हस्तान्तरण कार्यक्रमको आयोजना मात्र गरेनन्, चेकको ठूलो आकारको डमी पनि हस्तान्तरण गर्दै आफ्नै पहलमा नगद राहत प्राप्त भएको डिंग पिटाए । 

अझ उदेकलाग्दो कुरा उनले नगद राहत पाउनमा नेपाली काँग्रेसका नेता एवम् स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको पहलमा खातामा रकम जम्मा भएको लाजै नमानी उल्लेख गरे । उनको उक्त कुरो सुनेपछि स्थानीय लाजले भुतुक्क भएको बताउँछन् ।

उक्त सहयोग रकम टेलिभिजनमा दोहोरी कार्यक्रम इन्द्रेणीका कृष्ण कँडेलले १४ लाख, विदेश र स्वदेशमा रहेका नेपालीहरुको सहयोग र गैर सरकारी संस्थाहरुको पहलमा जम्मा भएको थियो । त्यसो त उनै मेयर बालकृष्ण बस्नेत हुन् जसले जेठ २ गते चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्रीबाट चेक बुझ्दै जुरे पहिरो पीडितले राहत पाउनुमा सांसद माधव सापकोटाको ठूलो देन रहेको भाषण पनि गरेका थिए । तर आफैंले आयोजना गरेको कार्यक्रममा भने उनले आफ्नो र मन्त्री बस्नेतको पहलमा राहत दिन सफल भएको उच्चारण गरिरहँदा सबै चकित भएका हुन् ।

यता सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले जुरे पहिरो पीडितले आफ्नो पहलमा नगद राहत पाएको बताउँदै हिँड्ने गरेका छन् । त्यस्तै स्वास्थ्यमन्त्री बस्नेतले पनि यसरी नै जस लिने प्रयास गर्दै आएका छन् । 

यसअघि मन्त्रिपरिषद्ले सो रकम जुरे पहिरो पीडितहरुका लागि भौतिक पूर्वाधारमा खर्च गर्ने निर्णय गरेको थियो । सो निर्णयबाट असन्तुष्ट पीडितहरुले नगदै राहतको माग निरन्तर गरिरहे । पीडितका मागबमोजिम नगदै राहत वितरण भएपछि अहिले स्थानीय नेताहरु भने जस लिन जोडतोडका साथ लागि परेका हुन् ।

उनीहरुले जुनसुकै कार्यक्रममा पनि आफ्नो पहलमा जुरे पहिरो पीडितले नगद राहत पाएको बताउने गरेका छन् । तर पीडतहरुले नगद राहत पाउनुमा स्थानीय जनप्रतिधिहरुको भूमिका शून्य रहेको हाकाहाकी भनेका छन् ।

टिप्पणीहरू