आगामी १० वर्ष ‘पर्यटन दशक’, यो वर्ष १० लाख पर्यटकको लक्ष्य

आगामी १० वर्ष ‘पर्यटन दशक’, यो वर्ष १० लाख पर्यटकको लक्ष्य

सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशक घोषणा गरेको छ ।  बजेट भाषणका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गर्नुभएको हो । 

उहाँले सन् २०२३ मा नेपालमा आउने पर्यटकको संख्या १० लाख पुर्याइने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको बताउनुभयो । साथै, यो वर्ष ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान पनि चलाइने भएको छ । 

अर्थमन्त्री महतले ताप्लेजुङदेखि ग्रेट हिमालन ट्रेल निर्माणलाई तीब्रता दिने तथा पोखरा–मुस्ताङ पदमार्गलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । त्यस्तै, पर्यटकीय पदमार्ग निर्माण गर्न पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गरिने छ । जनकपुर, स्वर्गद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने छ । 

नयाँ बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको बताउँदै अर्थमन्त्री महतले ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिनुभयो । चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

टिप्पणीहरू