कान्तिपुरको लफडा फेरि कोट्टियो

कान्तिपुरको लफडा फेरि कोट्टियो

कान्तिपुर मिडिया ग्रुपले धमाधम पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको भन्दै श्रमजीवी पत्रकार संघ,नेपालले चर्को विरोध गरेको छ । ग्रुपअन्तर्गत कान्तिपुर टिभीको तीनकुनेस्थित कार्यालयबाट ११ जना र सात वटै प्रदेशका ब्युरो चिफलाई हटाइएको संघको तर्फबाट जन्मदेव जैसीले जानकारी दिएका छन् ।

उनका अनुसार कान्तिपुर दैनिकमा कार्यरत ३५ जना स्थायी पत्रकार र २० वर्षसम्म काम गरेका जिल्ला रिपोर्टरहरुलाई पनि अवकाश दिन लागिएको जैसीले सामाजिक सञ्जालमा लेखेका छन् । ‘कान्तिपुरका एचआर परमानन्द खनाल,कान्तिपुर टिभीका एचआर पुष्पराज गिरीले प्रत्येकलाई फोन गरेर तुरुन्त राजीनामा दिन दबाब दिइरहेका छन्,’ सामाजिक सञ्जालमा लेखिएको छ ।

कान्तिपुरको वितरण विभागका ११ जना श्रमजीवी र इकान्तिपुर डटकमका तीन जना स्थायीलाई पहिले अस्थायीको पत्र थमाए पनि अहिले जबर्जस्ती राजीनामा दिन लगाइएको छ । तर सो घटनाबारे पत्रकार, कर्मचारी तथा त्यहाँ रहेका प्रतिष्ठानस्तरीय ट्रेड युनियनहरु मौन रहेकोमा उनले आक्रोश व्यक्त गरेका छन् ।

सो सम्बन्धमा संघले गत साता कान्तिपुर व्यवस्थापक कैलाश सिरोहियालाई गम्भीर ध्यानाकर्षण गराएको जानकारी गराउँदै भनेको छ, ‘अचम्म ! आफुलाई श्रमिकपक्षीय दाबी गर्ने कान्तिपुरका ट्रेड युनियनहरु, ट्रेड यूनियन महासंघहरु, पत्रकार महासंघ, अन्य सञ्चारसम्बद्ध संघ÷संगठनहरु यत्रो रडाको मच्चिदा पनि किन बोल्दैनन् ?’
 

टिप्पणीहरू