विद्युत प्राधिकरणको खर्च कटौती घोषणापछि अन्य संस्थान दबाबमा

विद्युत प्राधिकरणको खर्च कटौती घोषणापछि अन्य संस्थान दबाबमा

नेपाल विद्युत प्राधिकरणले आफ्नो केही खर्च शीर्षकमा कटौती गर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले विविध शीर्षकमा खर्च कटौती गर्न लागिएको जनाइएको छ ।

प्राधिकरण प्रधान कार्यालयले मातहतका निर्देशनालयलाई पत्राचार गर्दै कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ बमोजिम तोकिएको कार्यालय समयभित्र सबै कर्मचारीबाट कार्य सम्पादन गर्न–गराउन पनि निर्देशन दिएको छ । 

उप–कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन काम लगाउन प्रतिबन्ध लगाइएको छ । स्वीकृत दरबन्दीबमोजिमको जनशक्तिको अभाव भएमा वा अत्यावश्यक तथा विशेष कार्यहरु यथाशीघ्र सम्पन्न गर्नुपर्ने अवस्थामा सार्वजनिक बिदाका दिन काम लगाउनुपर्ने भएमा सम्बन्धित उप–कार्यकारी निर्देशकको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।

पूर्वस्वीकृति नलिई सार्वजनिक बिदाका दिन काम लगाइएमा सोबापत अतिरिक्त समय भत्ता र खाजा खर्च नदिने स्पष्ट पारिएको छ । प्राधिकरणले दशौं तह र त्यसभन्दा माथिका पदाधिकारी एवम् कार्यालय प्रमुख–आयोजना प्रमुखलाई अतिरिक्त भत्ता र खाजा खर्च नदिने निर्णय पनि गरेको छ । 

कार्यकारी निर्देशकको सिफारिसमा मात्र सार्वजनिक बिदाका दिन सवारी अनुमतिपत्र लिने व्यवस्था मिलाउन भनिएको छ । साथै, उक्त व्यवस्था कार्यान्वयन भए–नभएकोबारे प्रशासन निर्देशनालयबाट नियमित अनुगमन गर्ने उल्लेख गर्दै प्राधिकरणले नटेर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

टिप्पणीहरू