प्रेस काउन्सिलको आग्रह : अपुष्ट स्रोतको हवालामा समाचार नलेखौं

प्रेस काउन्सिलको आग्रह : अपुष्ट स्रोतको हवालामा समाचार नलेखौं

प्रेस काउन्सिल नेपालले यथेष्ट प्रमाणबिना र अपुष्ट स्रोतको हवाला दिएर कुनै पनि व्यक्ति, संघसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवम् मानहानी हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । 

सर्वसाधारण नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएकालाई जोडेर विभिन्न सञ्चारमाध्यमले अपुष्ट समाचार प्रकाशन गरेपछि काउन्सिलले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न आग्रह गरेको छ । काउन्सिलले आज जारी गरेको विज्ञप्तिमा त्यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवम् सञ्चारमाध्यमको झल्को दिनेगरी भ्रम फैलाउने सामाजिक सञ्जालबाट दुष्प्रचार भएको छ ।’

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासो आउने क्रम बढेको उल्लेख गर्दै काउन्सिलले पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रषेण नगर्न सुसूचित गराएको हो ।

 

पेशागत आचरणविपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान–छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(३), ४(६) र ५(११) उल्लंघन गर्ने स्मरण गराइएको छ ।

टिप्पणीहरू