ओलीको कटाक्ष रवितिर -रास्वपा तीतेपाती,एमाले पिपल

ओलीको कटाक्ष रवितिर -रास्वपा तीतेपाती,एमाले पिपल

प्रतिष्पर्धी दल र नेतामाथि सार्वजनिक मन्चबाट कटाक्ष गरिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भने भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रहार सोझ्याउनु भएको छ । 

आज पार्टीका युवाहरुलाई निर्देशन दिने कार्यक्रममा उहाँले रास्वपालाई छोटो आयुको हलक्क बढ्ने तीतेपातीको संज्ञा दिनुभयो । त्यसक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीलाई भने लामो आयु भएको पिपलको रुखसँग तुलना गर्नुभएको छ ।  

काँग्रेस र एमालेको विकल्पका रुपमा रास्वपा अघि आइरहेको चर्चा भैरहेकोमा ओलीले कुनै बिचार नभएका कारण त्यस पार्टीले केही गर्न नसक्ने ठोकुवा पनि गर्नुभयो । 'बूढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ ? त्यो नयाँ बोत्तल होला तर रक्सी उही हो । त्योसँग नयाँ विचार छैन,समाज परिवर्तनको कुनै एजेन्डा छैन । कहाँ पुग्ने स्पष्ट भिजन पनि छैन’, ओलीले दावाका साथ भन्नुभयो ।

पिपल र तीतेपाती सँगै रोपे पिपलले टुसा हाल्न नपाउँदै तीतेपाती तीन महिनामै हलक्क बढेर उधुम मच्चाउने तर,बर्खा देखे हिउँद देख्न नपाउने ओलीको टिप्पणी छ । पिपल भने हजारौँ वर्षसम्म बाँचिरहने उहाँले बताउनुभयो ।

टिप्पणीहरू