राजधानीमा जताततै ‘भाडामा’ लेखिएको रित्तो सटर

राजधानीमा जताततै ‘भाडामा’ लेखिएको रित्तो सटर

राजधानी काठमाडौं उपत्यकाका अधिकांश भवनका सटर तथा गोदाम खाली हुन थालेका छन् । केही वर्ष अघिसम्म व्यवसाय सञ्चालन गर्न सटर भाडामा पाउन मुश्किल पर्ने काठमाडौँमा अहिले जताततै पसल भाडामा, पसल बिक्रीमा, सटर खाली, टु–लेट लेखिएका पोष्टर टाँसिएको देखिन्छ ।

उपत्यकाका अधिकांश स्थानमा ‘भाडा’ मा लेखिएको सूचना टाँसेको देखिएपछि मुलुकमा आर्थिक संकट देखापरेको अनुमान सर्वसाधारणले पनि लगाउन थालेका हुन् । व्यापार व्यवसायमा मन्दी आएकाले सटर खाली हुन थालेको बताइन्छ । मुख्य सहरी क्षेत्रसँगै भित्री गल्लीमा सञ्चालित सटर तथा पसलसमेत बन्द भएका हुन् ।

राजधानीका न्यूरोड, चाबहिल, सुन्धारा, बानेश्वरलगायत क्षेत्रमा अधिकांश सटर खाली हुन थालेका छन् । एकातिर महंगो र अर्कातिर लागत बढ्दा उद्योग, कारकाखाना, व्यवसाय बन्द हुने क्रम बढेकाले उनीहरुले सटरको ढोका लगाएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँको चाबहिलस्थित कपडा पसल सञ्चालन गर्दै आएकी सुनिता थापा पछिल्लो समय व्यापार ठप्प रहेको बताउँछिन् । भन्छिन्, ‘कपडा पसल सञ्चालन गरेको चार वर्ष भयो । पहिला राम्रै व्यापार हुन्थ्यो । त्यहि सोचेर बैंकबाट ऋण लिएर थप लगानी गरियो । तर, अहिले व्यापारमा मन्दी आएपछि उठीबास लागेको छ ।’ ‘एकातिर बैंकको ब्याजदर दिनहुँ बढेको छ भने अर्कातिर व्यापार ठप्प छ,’ उनले थपिन्, ‘यही अवस्था हो भने व्यवसाय नै छोड्नुको विकल्प छैन ।’ 

भक्तपुरको जगातिमा जुत्ता पसल सञ्चालन गर्दै आएका केशव आचार्यले पनि व्यापारमा आर्थिक मन्दीले उठीबास लगाउने संकेत देखाएको बताए । ‘परिवारको पेट पाल्छु भनेर व्यवसायतिर लागियो । जेनतेन कमाउन थालिएकोमा पनि कोरोनाले सताउनु सतायो । अहिले बैंकबाट लिएको ऋणको ब्याजदर बढेर थेगिनसक्नु भएको छ । यता घरधनीहरु पनि आफुखुशी भाडा बढाउँछन् । तर, दिनमा एकाध हजारको व्यापार हुन पनि हम्मेहम्मे परेको छ,’ उनले भने । 

कहिलेकाँही पसलमा बोहनीसमेत नहुने गरेको सुनाउँदै आचार्यले व्यवसायीहरुको संरक्षणको निम्ति राज्यले कुनै प्रयास नगरेको गुनासो गरेका छन् । राष्ट्रिय व्यवसायी महासंघका पूर्वध्यक्ष नरेश कटुवाल मुलुकभर करिब ३५ प्रतिशतभन्दा बढी व्यवसायिक सटर बन्द भएको बताउँछन् । उनले उपत्यकामै १५ देखि २० प्रतिशतले सटर खाली गरेको बताए । 

‘कुनै बेला सटरको लागि हारालुछ हुने काठमाडौँमा अहिले अधिंकाश सटर भाडामा छैनन् । बजारमा आर्थिक तरलता छ । व्यक्तिसँग पैसा छ तर व्यापार व्यवसायमा मन्दी देखिन्छ । ६० देखि ६५ प्रतिशत उद्योग बन्द भइसकेका छन् । बाँकी पनि बन्दको अवस्थामा पुगेका छन्,’ उनले भने । 

कोभिडकै कारण मारमा परेका व्यवसायीहरुलाई संरक्षण गर्न राज्यले सही नीति अवलम्बन नगर्दा व्यवसायीहरु पलायन हुँदै गएको उनको भनाइ छ । ‘धेरै व्यवसायी कोभिडकै कारण समस्यामा परेका थिए । तर, राज्यले उनीहरुको संरक्षण गरेन,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था र घरधनीको मनोमानीकै कारण व्यवसायीहरु पलायन हुँदै गएका छन् ।’

‘राष्ट्र बैंकले नियमन नगर्दा बैंकले मनोमानी रुपमा ब्याजदर बढाइरहेको छ । यता घरधनीहरु पनि आफुखुशी भाडा बढाउँछन् । अनि व्यवसायीहरु पलायन नभए के गर्नु ?’ उनले थपे । सरोकारवाला निकायहरुले निजी क्षेत्रको संरक्षण गर्नुपर्छ भनेर नसोच्दा पछिल्लो समय उद्योगीहरु व्यवसाय बन्द गरेर विदेश पलायन हुन बाध्य भएको उनी सुनाउँछन् । 

महासंघअन्तर्गत ३३/३४ वटा संगठन छन्, तिनमा करिब २० हजार सदस्य छन् । तर, अहिले यी सबै व्यवसायी मन्दीमा पर्दा उनीहरु व्यवसाय नै छोडेर खाडी मुलुक जान बाध्य भएको उनको भनाई छ ।

अर्थतन्त्रमा आएको गिरावटका कारण व्यापार व्यवसाय घटेको तर राज्य जिम्मेवार नहुँदा व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ । व्यवसायीको संरक्षणको निम्ति वैज्ञानिक भाडादर लागू गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थामाथि सम्बन्धित निकायले कडा अनुगमन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

टिप्पणीहरू