फरेष्ट्रीका लागि छात्रवृत्तिको आवेदन आह्वान

फरेष्ट्रीका लागि छात्रवृत्तिको आवेदन आह्वान

काठमाडौं फरेष्ट्री कलेजमा फरेष्ट्री विषय लिएर विएस्सी पढ्नेका लागि छात्रवृतिको दरखास्त मागिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुकलाई आवेदन पेश गर्न भनेको हो । 

मन्त्रालयले शैक्षिक वर्ष २०८०–०८५ सालको स्नातक तहको विएस्सी फरेष्ट्री विषयमा छात्रवृत्तिमा अध्ययनका लागि पाँच जना विद्यार्थीहरु साधारण तथा समूहगत रुपमा सिफारिस गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ । 

दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनविज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले २०८० सालमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्ने जनाइएको छ । 

मन्त्रालयका अनुसार साधारण समूहमा तीन र आरक्षण समूहतर्फ महिला एक र जनजाति एक सिट छुट्याइएको छ । आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । 

दरखास्त दिने म्याद आजदेखि जेठ १० गतेसम्म तोकिएको छ । मन्त्रालयको छात्रवृत्ति शाखामा दरखास्त दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू