दलालीको माखेसाङ्लो डरलाग्दो

दलालीको माखेसाङ्लो डरलाग्दो

देशमा आर्थिक मन्दी छ । यही बेला सबैखाले आर्थिक सूचकांकहरूमा हावी हुँदै आर्थिक आधिपत्य कायम गर्ने नियतका साथ केही मानिसको सल्बलाहट बढिरहेको छ । ठूला तथा विदेशी लगानी व्यवस्थापन, नियमन र परिचालन गर्नका निम्ति खडा गरिएको लगानी बोर्डको कामै भएको छ– ठूला परियोजना र विदेशी लगानी बेचेर कमिशनमा रमाउने । नामुद बिचौलिया दीपक भट्टका दाइ सुशील त्यसमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । भाइसहित आफ्नै आर्थिक साम्राज्य फैलाउनेबाहेक अरु कुराको चिन्ता उनमा खासै देखिन्न । 

हालै नेपालमा निर्माणाधीन सम्पूर्ण जलविद्युत परियोजना भारतको सरकारी कम्पनी एनएचपिसी (नेशनल हाइड्रोपावर कम्पनी) लाई दिने सहमति गरिएको छ । त्यसमध्ये ७५० मेगावाटको पश्चिम सेती, एचआर सिक्स र फुकोट कर्णालीजस्ता महत्वाकांक्षी परियोजना पर्दछन् । यी सबै कामका नदेखिने हर्ताकर्ता हुन्, कांग्रेस सभापति शेरबहादुर देउवाका साला पर्ने प्रमोद राणा । एनएचपिसीका प्रमुख एके सिंह पावर समिटमा नेपाल आउँदा सुशील भट्टले भेटेका थिए । गत भदौमा देउवा प्रधानमन्त्री रहेकै बेला एउटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसमा उक्त कम्पनीले ४५ दिनभित्र पश्चिम सेती र ६ महिनाभित्र सेती नदी–६ को सर्वेक्षण अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिने प्रसंग उल्लेख थियो । त्यसपछि लगानी बोर्डले आवश्यक प्रक्रिया पूरा गरी भारतीय कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिने कुरा पनि त्यसमै छ । उसले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र दुईवटै आयोजनाको विस्तृत अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेश गर्नुपर्ने शर्त छ । ती परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षको अध्ययन गर्ने समझदारी थियो । तर, अहिलेसम्म लेनदेनमै कुरा मिलेको छैन । 

दीपक भट्टले भारतीय कम्पनी सतलजमार्फत अरुण तेस्रो र त्रिशुलीका परियोजना हात पारेका छन् । चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) का नेपाली एजेण्ट पनि उनै हुन् । उक्त कम्पनीले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी परियोजना निर्माण गर्ने सम्झौता २०७४ सालमा गरेको थियो । 

लगानी बोर्डमा आफ्ना लागि ‘काम गरिदिने’ व्यक्ति रिझाउने धन्दा उत्तिकै छ । नेपाल विद्य्त प्राधिकरणको ११ औँ तहबाट अवकास पाएका हाकिम जयन्द्र श्रेष्ठ अहिले बोर्डको सल्लाहकार छन् । उनले भट्टहरूको माथिल्लो त्रिशुली थ्री एलाई ६० बाट ९० मेगावाट बनाउँदा लगाएको गुनबापत उक्त पद पाएको बताइन्छ । 

भट्ट अहिले लगानी बोर्डकै आडमा मल कारखाना खोल्नका लागि मलेसियन कम्पनीसँग साझेदारी गरिरहेका छन् । सम्पत्ति शुद्धिकरणले छानवीन गरिरहेको छ । तर, उनका अपारदर्शी आर्थिक कारोबार भने जारी नै छ । शंकर समूहलाई पुनर्वीमा कम्पनी दिलाउन सफल भएपछि अहिले विभिन्न बैंकमा ८० अर्ब ऋण भएका शंकर गोल्यानसँग अन्नपूर्ण होटलको जग्गा खरिदमा साझेदार भएका छन् । होटल पछाडिको चार रोपनी जमिन २ अर्बमा शंकर ग्रुपसँगै दीपक भट्टले पनि किनेका हुन् । 

यति सानो देशमा भएको एउटै स्टक एक्सचेन्ज चल्न गाह्रो छ, त्यसमाथि अर्को पुनर्वीमा कम्पनी खोलेर सरकारले भद्रगोल मच्चाउन खोज्नुको कारक उनै भट्ट हुन् । पहिला साझा बस ल्याएर चलिरहेको ट्रली बससँगै दुबै डुबेजस्तो स्टक एक्सचेञ्ज चलाउन नसकेको सरकारले अर्को पुनर्वीमा कम्पनीलाई अनुमति दिनु बेकार हुने जानकारहरू बताउँछन् ।
 

टिप्पणीहरू