प्राधिकरणका कर्मचारीले प्रतिशोध साँध्न विद्युत कटौती गरेको उद्योगीहरुको आरोप

प्राधिकरणका कर्मचारीले प्रतिशोध साँध्न विद्युत कटौती गरेको उद्योगीहरुको आरोप

नेपाल विद्युत प्राधिकरणले प्राविधिक त्रुटि देखाउँदै विद्युत आपूर्ति कटौती गरिदिने धम्की दिएको भन्दै मोरङ व्यापार संघले आपत्ति जनाएको छ । 

आज विज्ञप्ति जारी गर्दै संघले आफूहरुको आन्दोलनप्रति नकारात्मक भावना भएका प्राधिकरणका अधिकृतहरुले प्रतिशोध साँध्न जानीजानी बिद्धुत कटौती गरिदिएको आरोप लगाएको छ । कुनै लिखित सूचना र जानकारीबिनै प्राधिकरणले तत्कालै विद्युत आपूर्ति कटौती गरिदिने धम्की दिएको बताउँदै संघले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत आपूर्ति कटौती गरिदिने धम्की दिएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै लिखित सूचनाबिनै मौखिक रुपले तत्कालै विद्युत आपूर्ति कटौती गरिदिने धम्की दिनाले प्राधिकरणका जिम्मेवार अधिकृतहरुबाट त्यस प्रकारका गतिविधिहरु कतै यस संघको विरोध कार्यक्रमको प्रतिशोध स्वरुप त होइन ? भन्ने प्रश्न उब्जीएको छ ।’

विगतका कोभिडका बन्दाबन्दी तथा विद्यमान तरलता अभाव, चर्को बैंक ब्याजदर लगायत अनेक आर्थिक जटिलताका बाबजुद जेनतेन सञ्चालनमा रहेका उद्योगमा उद्योगको अक्सिजनको रुपमा रहेको विद्युतको आपूर्ति समेत असहज हुँदा उद्योगहरु जोखिमपूर्ण अवस्थामा पुगेको संघको भनाइ छ । 

त्यसैले, प्राधिकरणले जिम्मेवारपूर्ण तवरले उद्योगहरुको मर्मलाई आत्मसात गर्दै उद्योगहरुप्रति संवेदनशील भई विद्युत आपूर्ति सहज गरिदिनुपर्ने संघको माग छ । 

त्यस्तै, विद्युत कटौतीको निर्धारित तालिका, कपासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय र संकटग्रस्त उद्योगमा कुनै पनि प्रकारका धम्कीका वातावरण सिर्जना नगरिदिनुका साथै उद्योगमा कार्यरत हजारौँ श्रमिकको रोजगारीको संरक्षण गरिदिन संघले अनुरोध गरेको छ ।
 

टिप्पणीहरू