खोप लगाउन छुटेका बालबालिकाको खोज्न घरधुरी सर्वेक्षण गर्दै महानगर

खोप लगाउन छुटेका बालबालिकाको खोज्न घरधुरी सर्वेक्षण गर्दै महानगर

काठमाडौं महानगरपालिकाले नियमित खोप लगाउन छुटेका बालबालिकाको तथ्याङ्क संकलन गर्ने भएको छ । 

बिबिध कारणले खोप लाउन छुटेका बालबालिका पत्ता लगाउन महानगरपालिकाले आउँदो वैशाख २४ देखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्न लागेको हो । पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिकाबमोजिम खोप लगाउन छुटेका बालबालिकाको खोजी गर्न थालिएको महानगरको स्वास्थ्य विभाग महाशाखा प्रमुख सजिना महर्जनले जानकारी दिइन् । 

१६ महिनादेखि ५९ महिनाका उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गर्नका लागि सर्वेक्षण गर्न लागिएको उनको भनाइ छ । उनको अनुसार यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । 

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने व्यवस्था मिलाइएको प्रमुख महर्जनले बताइन् । महानगरपालिकाका यसका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । 

नेपालमा वैशाखलाई ‘खोप महिना’ को रुपमा मनाउने गरिएको छ । बच्चा जन्मिनेबित्तिकै बिसिजी खोप लगाइन्छ । ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेबवी–हिब खोप दिइन्छ । चौधौं हप्तामा चौथौं खोप दिइन्छ । 

यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेबवी—हिब खोप पर्दछ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । जसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप पर्छ । १२ महिनामा छैठौँपटक खोप दिइन्छ । यसपटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो ।

१५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।
 

टिप्पणीहरू