डेंगी रोक्न स्वास्थ्य मन्त्रालयको ‘साढे १० बजे १० मीनेट अभियान’

डेंगी रोक्न स्वास्थ्य मन्त्रालयको ‘साढे १० बजे १० मीनेट अभियान’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मीनेट अभियान’ सञ्चालन गर्न अनुरोध गरेको छ । डेंगु नियन्त्रणको उपायस्वरूप भोलिदेखि अभियान थाल्न लागिएको बताइन्छ । 

मन्त्रालयले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सबै सरकारी तथा सार्वजनिक निकायहरुलाई आफ्नो कार्यालय हाताभित्र उक्त अभियान अनिवार्य रुपमा सञ्चालन गर्न भनेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले डेंगी संक्रमणको रोकथाममा सामूहिक प्रयासका लागि यो अभियान प्रभावकारी हुने विश्वास लिएका छन् । 

यस वर्ष पनि डेंगी संक्रमण बढ्न सक्ने भन्दै मन्त्रालयले आफ्नो बासस्थान एवम् कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि हुन नदिन सरसफाई गर्ने यस अभियानको उद्देश्य रहेको प्रष्ट्याएको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार डेंगी संक्रमण गराउने लामखुट्टे घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर सङ्लो पानीमा अण्डा पारेर वृद्धि विकास हुने गर्छ । संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले डेंगी संक्रमण गराउने गर्दछ । 

सबैको प्रयासले मात्रै डेंगी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने भएकोले उक्त अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति तथा निकायहरुलाई आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिन मन्त्रालयले आग्रह गरेको छ ।

टिप्पणीहरू