एमाले अध्यक्षमाथि ढुंगामुढाको प्रयास, दुई जना प्रहरी घाइते
आज बिहान गृहजिल्ला झापा जानुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । कोशी प्रदेश पुनः नामाकरणको माग राख्दै केही दिनदेखि निरन्तर आन्दोलित पहिचानवादी समूहले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीविरुद्ध राजमार्गमा प्रदर्शन गर्दै ढुंगामुढाको प्रयास गरिएको बताइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा सहभागी हुन पुग्नुभएका अध्यक्ष ओलीमाथि पहिचानवादीको समूह आक्रोशित हुँदै जाइलागेको हो ।
झण्डै पाँच दर्जनको संख्यामा रहेका उनीहरु कार्यक्रमस्थलतर्फ जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले उनीहरुलाई एक सय मीटर वरै रोक्न खोजेको बताइन्छ । आफूहरुलाई प्रवेश नदिइएको भन्दै पहिचानवादी समूहले वरैबाट ढुङ्गामुढा गरेका हुन् ।
प्रदर्शनकारी उत्तेजित र त्यहाँको अवस्था उग्र हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको बताइएको छ । सो क्रममा दुई जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
उनका अनुसार कार्यक्रममा विशिष्ट व्यक्ति आउने थाहा पाएपछि प्रदर्शनकारीहरु विरोधको निम्ति पहिल्यै तयारी अवस्थामा बसेका थिए । अध्यक्ष ओली त्यहाँ पुग्नेबित्तिकै प्रदर्शनकारीहरु नाराबाजी गर्दै बाहिर निस्किएका हुन् ।
‘भिआईपी आउने थाहा पाएपछि उनीहरु पहिल्यै तयारी अवस्थामा रहेछन् । हामीले भूतपूर्व प्रधानमन्त्रीलाई प्रहरीकै गाडीमा कार्यक्रमस्थलसम्म पुर्याएका थियौं । पहिले लुकेका र उहाँँलाई देख्नेबित्तिकै बाहिर निस्किएर नाराबाजी गर्न थाले’, उनले भने, ‘कार्यक्रमस्थलमा प्रवेश गर्न खोजेपछि हामीले रोकेका हौं । सोही क्रममा ढुङ्गा बर्साउन थालियो । प्रहरीले रोक्ने क्रममा झडप भएको हो । दुई जना प्रहरी घाइते छन् ।’
प्रहरीले एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । अध्यक्ष ओली त्यहाँको कार्यक्रम सकिएपछि इलामतर्फ जानुभएको बताइएको छ ।
टिप्पणीहरू