झापामा एमालेलाई एकपछि अर्काे झमेला

झापामा एमालेलाई एकपछि अर्काे झमेला

यतिबेला नेकपा एमालेले मिसन ग्रासरुट नामक अभियान चलाइरहेको छ। तर जतिजति यो अभियानले तीब्रता पाइरहेको छ उति नै नेता तथा कार्यकर्ताको पलायन तीव्र बनिरहेको छ । यही अभियानमा कार्यकर्तालाई भ्याइनभ्याइ भएको बेला झापा आन्दोलनका अगुवा नरेश खरेलदेखि गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीसम्मले पार्टी छाडेका मात्र छैनन् विभिन्न स्तरमा भएका चुनावमा घाटा परिरहेको छ । मेचीनगरमा गत आम चुनावपछि भएका संघसंस्थाको चुनावमा उद्योग वाणिज्य संघबाहेक अरुतिर एमालेले एकपछि अर्को हार व्यहोर्‍यो । 

धुलाबारी र काँकरभिट्टा गाविस मिलाएर मेचीनगर नगरपालिका गठन भएको थियो । यसमा ज्यामिगरढी, दुहागढी, बाहुनडाँगी र धाइजन गाविस पनि मिसिए । कम्युनिस्ट गढ भनेर चिनिएका यी क्षेत्रहरूमा हुने सबैखालका संघसंस्थाको चुनावमा विगतमा एमाले समर्थित उम्मेदवारले जित्थे । तर अहिले परिस्थिति उल्टिएको देखिन्छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको चुनावमा यस क्षेत्रबाट एमाले बढारिएको छ भने नगरपालिकाको चुनावमा उसले आफ्नो विरासत जोगायो । एमालेका अग्नि खरेल र रबिन कोइरालाले समेत हारको सामना गर्नुपर्‍यो ।

गत नगर चुनावपछि स्ववियु चुनाव भएका काँकरभिट्टा र त्रिदेव बहुमुखी क्याम्पसमा एमाले नराम्ररी पराजित भयो । मेची सामुदायिक सेवा केन्द्रमा पनि कांग्रेसका बागी उम्मेदवार पूर्वएमाले पत्रकार मुक्ति पौडेलले जिते । त्यतैको हातेमालो र पाँचपोखरी सामुदायिक बनको भर्खरै चुनाव भयो । दुबैमा एमाले हेरेको हेर्‍यै भयो । हातेमालोमा कांग्रेस र पाँचपोखरीमा नेकपा एसले नेतृत्व हात पार्‍यो ।

धुलाबारी खानेपानी उपभोक्ता समितिको चुनावको परिणामले त झन् नेकपा एमालेलाई निकै ठूलो धक्का दियो । एमाले र उसको गठबन्धनका उम्मेदवारलाई कांग्रेसले हराइदियो । यस चुनावमा एमालेसँग नेकपा माओवादी, नेकपा एस र जसपा पनि गठबन्धनमा थिए भने कांग्रेससँग राप्रपा थियो । राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै भिडेर आफ्नो सम्मानजनक हैसियत कायम गर्न सफल भयो ।

संगठन कमजोर बनेको बेला समर्थक तप्कामा वितृष्णा बढेको कारण नेकपा एमाले ग्रासरुटमै संकटमा परेको देखिएको छ । यता सभामुखको चुनाव क्षेत्रमा पनि त्यस्तै अवस्था छ । जसरी मिसन ग्रासरुट चलिरहन्छ, कार्यकर्तामा निराशा छाइरहेको छ । एमाले जिल्ला उपसचिव चन्द्रा श्रेष्ठलगायतले पार्टी छाड्नु र जिल्लाभरका कलेजमा भएको स्ववियु चुनावमा भएको पराजयले ब्यापक असन्तुष्टि बढेको देखिन्छ ।
 

टिप्पणीहरू