सुरक्षण मुद्रण केन्द्रका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा, नौ जनासँग पौने तीन अर्ब बिगो दाबी

सुरक्षण मुद्रण केन्द्रका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा, नौ जनासँग पौने तीन अर्ब बिगो दाबी

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका कार्यकारी निर्देशकसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा आज दायर गरेको छ । 

अख्तिायारले पौडेलविरुद्ध ६९ करोड ८ लाखभन्दा बढी बिगो र कैद दाबी गरेको छ । हाल वन तथा वातावरण मन्त्रालयमा रहेका केन्द्रका सिडिई नवीनकुमार पोखरेललाई ४९ करोड ४६ लाखभन्दा बढी बिगो र कैद एवम् सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध करिब २० करोड ३९ लाख रुपैयाँ बिगो र कैद माग दाबी गरिएको छ ।

भ्रष्टाचार मुद्दा दायर गरिएकामध्ये मेपटेक बिल्डिङ सर्भिसेजका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाखबढी, शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड १ लाख, इञ्जिनियरिंग मार्केटिंग कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध करिब २३ करोड ४५ लाख बिगो र कैद दाबी गरिएको छ ।

अन्यमा शाखा अधिकृत मनिकमान महर्जनले ३ करोड ४४ लाख, लेखा अधिकृत रामबहादुर बुढाले करिब १९ करोड ८९ लाख र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौंले ८ लाख ६९ हजार भ्रष्टाचार गरेको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

उनीहरुले सुरक्षण मुद्रण केन्द्रले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रृेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा बदनियतपूर्वक कार्य गरेको ठहर छ । मिलेमतोमा कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको आयोगको अभियोगमा उल्लेख छ ।

खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, सम्झौताविपरीत गुणस्तरहीन ट्रान्सफरमर स्वीकार गरेको, सम्झौताभन्दा फरक मुलुकको जेनेरेटर स्वीकार गरेर भुक्तानी गरेकाले उनीहरुले राज्यकोष दुरुपयोग गरेको देखिन आएको हो ।

टिप्पणीहरू