सिंहदरबारबाटै कालिज मार्नेलाई संरक्षण

सिंहदरबारबाटै कालिज मार्नेलाई संरक्षण

म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपले हातहतियार र वन्यजन्तुसम्बन्धी कसुरका अभियुक्तहरूलाई संरक्षण दिएको पाइएको छ । जंगली कालिज मारेको र घरमा इजाजतबिना हातहतियार राखेको अभियोग लागेकाहरूलाई उक्त ग्रुपले जोगाएको हो । डिभिजन वन कार्यालय, म्याग्दीले वन कालिज मारेको प्रमाणित गर्दागर्दै पनि अभियुक्तहरूले सफाइ पाएका छन् । जबकि ०७७ कात्तिक २९ गते दुई वटा कालिज, भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका थिए । 

अर्जे खोलाको जंगलमा शिकार हुँदै छ भन्ने विशेष सुराकीका आधारमा खटिएको प्रहरीले बन्दुक पड्केको सुनेपछि खोजतलास अघि बढाउँदा रातको साढे १० बजे सन्दीप गुरुङको घरमा बत्ती बालेको र होहल्ला गरेको देखेपछि त्यतै लाग्यो । भान्सा कोठामा दुई वटा कालिज भुत्ल्याउँदै गरेको अवस्थामा भेटियो भने बन्दुक भित्तामा ठड्याएर राखिएको थियो । गोलाकार घेरा बनाएर बसेका सोही ठाउँका सकबहादुर गुरुङ, सञ्जय गुरुङ र सन्तोष गुरुङलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लियो । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा पूर्णबहादुर गुरुङ पनि मुछिए । इजाजतबिना हतियार राखेको भन्दै प्रहरीले अनुसन्धान अघि बढायो । जिल्ला अदालतसमक्ष बुझाइएको प्रतिवेदनमा उनीहरूले आफ्नो कसूर स्वीकारेका छन् । तिहार मनाउनका लागि कालिज मार्ने योजना बनाएको र सोहीअनुसार पूर्णबहादुरको घरबाट एकनाले भरुवा बन्दुक लगेको प्रतिवेदनमा उल्लेख छ । सकबहादुरको घरमा बाजेको पालादेखि रहेको बारुद र फलामको छर्रा प्रयोग गरेर कालिज मारेको उनीहरूले बताएका छन् । कालिज भुत्ल्याउँदै गर्दा प्रहरीले आफूहरूलाई नियन्त्रणमा लिएको र बन्दुकबारे सोधपुछ गर्दा पूर्णबहादुरको नाम निस्किएको उनीहरूको स्वीकारोक्ति छ । पूर्णबहादुरले पनि आफ्नो घरमा बुवाको पालादेखि बन्दुक रहेको बताएका छन् । बुवाको नाममा रहेको बन्दुक भए पनि त्यसमा लाग्ने खरखजाना आफूसँग नभएको उनको भनाइ छ ।

बुवाको मृत्यु भइसकेकाले बन्दुक आफ्नो नाममा गराउन जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा प्रक्रिया शुरु गरेको बयानमा उल्लेख छ । सो दिन बेलुका सकबहादुरले बन्दुक मागेको र आफूले दिएको उनले बयानमा खुलाएका छन् । प्रहरीसमक्ष आफू निद्रामा भएका बेला तीन पटक बन्दुक पड्केको आवाज सुनेको समेत बताएका छन् । उनका अनुसार प्रहरीले राति आएर बन्दुकबारे सोधपुछ गर्दा आफ्नो भएको जानकारी गराएका थिए । तर, अदालतमा गरेको बकपत्रमा भने उनीहरूले सो कुरा झुटा भएको दाबी गरेका छन् । सन्दिपलेचाहिँ सो कालिज आफ्नो बाजेले हरियाली ग्रुपबाट ल्याएको बयान दिएका छन् । प्रत्येक कालिज तीन हजार पाँच सय रुपैयाँमा खरिद गरेको बकपत्रमा उल्लेख छ । आफूले उक्त कालिजको मुन्टो बटारेर मारेको र सबै मिलेर भुत्ल्याउने क्रममा प्रहरीले समातेको उनको भनाइ छ । साथै, उनले एकनाले बन्दुक आफ्नो घरबाट बरामद नभएको पनि ठोकुवा गरेका छन् । प्रहरीले पूर्णबहादुरलाई पक्राउ गर्दा बन्दुक पनि साथमा ल्याएको सन्दिपले जनाएका छन् । 

प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले हालेको मुद्दा सरकारी फौजदारी नम्बर ६०–०७७–००१०० मा दर्ता भएको थियो । न्यायाधीश तेजनारायण पौडेलले प्रहरी प्रतिवेदन र उनीहरूले अदालतमा गरेको बकपत्रलाई आधार मानेर प्रतिवादीद्वय पूर्णबहादुर र सकबहादुरलाई आठ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएका थिए । बिनाइजाजत हतियार राखेको पुष्टि भएकाले उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १३२ (१) को कसूरमा सजायँ सुनाइएको हो । यसबीच अदालतले सञ्जय, सन्तोष र सन्दिप गुरुङलाई सो मुद्दामा सफाइ दिएको छ । ‘प्रतिवादी सञ्जय गुरुङ, सन्तोष गुरुङ र सन्दिप गुरुङका हकमा बरामद भएको हतियार साथमा राख्ने लिई हिँड्ने तथा प्रयोग गर्नेसमेतका कुनै पनि कार्यमा निजहरूको संलग्नता नदेखिँदा कसूर स्थापित हुन नसकी सफाइ पाउने ठहर्छ’, फैसलामा भनिएको छ । यता, जंगली कालिज मारेको पुष्टि हुँदाहुँदै पनि प्रतिवादीलाई जरिवाना तिराएर छोड्ने काम भएको छ । सरकारले कालिज मार्न रोक लगाएको छ । यो संरक्षित पक्षीमा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, दफा २६ को उपदफा (२) मा संरक्षित पक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा १५ देखि ३० हजार रुपैयाँसम्म जरिवाना र तीनदेखि ९ महिनासम्म कैद सजायँ हुने उल्लेख छ । डिभिजन वन कार्यालय, म्याग्दीले उनीहरूले जंगली कालिज मारेको पुष्टि गरेको छ । यद्यपि, जिल्ला अदालतले सकबहादुर, सन्तोष, सञ्जय र सन्दिपलाई २० हजार जरिवाना तिराएर छोड्ने निर्णय गरेको हो । यता, पूर्णबहादुर भने १० हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । हरियाली ग्रुपले आफ्नोबाट कालिज लगेको बताउँदा उनीहरूलाई कानुनले तोकेको सजायँ पनि नगरिकन फुकुवा गरिएको बताइन्छ ।

योजना आयोगका उपाध्यक्षको संस्था बचाउमा 

झण्डै चार वर्षअघि सञ्चालनमा आएको हरियाली ग्रुपको अध्यक्ष सुजाता श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुरकी श्रीमती हुन् । मीनबहादुर भने संस्थाको सल्लाहकार छन् । ग्रुपले विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पालन गर्छ । यसको डिएनएसमेत कालिजसँग नमिल्ने बताइन्छ । अध्यक्ष सुजाता आफूलाई यस विषयमा खासै जानकारी नभएको बताउँछिन् । काठमाडौँ बस्दै आएकी उनले प्रशासनिक कामबाहेक आफूलाई केही पनि थाहा नभएको जनाइन् । फर्मबाट दिनहुँ धेरैले कालिज लैजाने गरेको बताउँदै उनले हरेकलाई बिल दिने गरेको जानकारी दिइन् । यता, ग्रुपका तत्कालीन म्यानेजर शेरबहादुर केसीले उनीहरूले कालिज किनेर लगेको बिल अझै पनि सुरक्षित रहेको बताए । गुरुङ टोलीले त्यसको एकाध दिनअघि कालिज खरिद गरेको उनको भनाइ छ । 

‘उहाँहरूले कालिज किनेर लगेको बिल अझै हाम्रो कार्यालयमा छ । घटना भएको एकाध दिनअघि कालिज लैजानुभएको हो । अब त्यो कालिज खानुभयो कि जंगली हो, योचाहिँ म पनि भन्न सक्दिनँ’, उनले भने । कालिज भनिए पनि यो लोकल कुखुराजस्तै हुने उनी बताउँछन् । केसी नेकपा माओवादी केन्द्रका पूर्व नगर अध्यक्ष हुन् । डिभिजन वन कार्यालयले जंगली कालिज भनेर पुष्टि गर्दा प्रतिवादीले हरियाली ग्रुपबाट कालिज किनेको बिल पेश गरेर उन्मुक्ति पाएका छन् । कालिज नै खरिद नगरी बिल कहाँबाट आयो ? माओवादी नगर सदस्यसमेत रहेका पूर्णबहादुर गुरुङलाई बचाउन ग्रुपले कुरो मिलाएको स्रोतको भनाइ छ । ग्रुपको सल्लाहकार डा. श्रेष्ठ पनि माओवादी नै हुन् । स्रोतका अनुसार एउटै पार्टीको भएकाले दोषीलाई सजायँबाट उन्मुक्ति दिलाउन झूटको खेती गरिएको हो ।
हरियालीले राष्ट्रिय बाणिज्य बैंकलाई मिलाएरै ५ करोड रुपैया“ निब्र्याजी ऋण लिएको छ तर फर्म माओवादी भर्ती केन्द्रको रुपमा मात्रै छ । हरियालीले मीन श्रेष्ठको पदको आडमा ऋण पाएको धेरैलाई थाहा छ । 

 

टिप्पणीहरू