रवि लामिछानेका निर्वाचन संयोजकले हात झिके

रवि लामिछानेका निर्वाचन संयोजकले हात झिके

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का केन्द्रीय सदस्य गणेश कार्कीले बारा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नो व्यक्तिगत तथा स्वास्थ्य समस्याका कारण दर्शाउँदै उनले उक्त जिम्मेवारीवहन गर्न असफल रहेको बताएका हुन् । 

रास्वपा सभापति रवि लामिछानेलाई बुझाइएको निवदेनमा उनले आफू सो पदमा रहेको अवस्थामा पार्टीलाई नोक्सान हुने उल्लेख गरेका छन् । त्यस्तै, यसअघि प्रतिनिधि सभाको निर्वाचनमा निभाएको भूमिकालाई मनन गरेर पार्टीले आफूलाई उपनिर्वाचनमा पुनः मौका दिएकोमा उनले कृतज्ञता भने प्रकट गरेका छन् । 

‘प्रतिनिधि सभाको गत निर्वाचनमा मैले निभाएको भूमिकाबाट प्राप्त मेरो अनुभवलाई यसपटकको उपचुनावमा फेरि पनि प्रयोग गर्ने उद्देश्यलाई मप्रतिको विश्वास र सद्भाव मानेको छु’, राजीनामा पत्रमा लेखिएको छ, ‘यसका लागि केन्द्रीय समितिप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीवहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’

तर, प्रत्यक्ष रुपमा सो जिम्मेवारी सम्हाल्न नसके पनि उपचुनावका गतिविधिमा आफ्नो सामर्थ्य र विवेकले भ्याएसम्म सहयोग गर्ने उनले उल्लेख गरेका छन् । कार्कीले आफ्नो राजीनामा स्वीकृत गरिदिन आग्रह पनि गरेका छन् ।
 

टिप्पणीहरू