नेपाल र चीन दुबैतिर राष्ट्रपतिको शपथ

नेपाल र चीन दुबैतिर राष्ट्रपतिको शपथ

नेपालका नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । लगत्तै उहाँले राष्ट्रपति कार्यालयमा पदबहालीसमेत गर्नुभएको छ ।

उता छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले पनि तीन दिनअघि तेस्रो कार्यकालमा निर्वाचित भएलगत्तै पद तथा गोपनीयताको शपथ लिनुभयो । राजधानी बेइजिङमा जारी चिनियाँ संसद जनकँग्रेसको १४ औं वार्षिक अधिवेशनले उहाँलाई तेस्रो कार्यकालको निम्ति सर्वसम्मत चयन गरेको हो ।

करिब ३ हजार जनप्रतिनिधिको सामुन्ने राष्ट्रपति सिले मुलुकको संविधानलाई छोएर शपथ लिनुभएको देखिन्छ । मुलुकको सर्वोच्च पदमा आसिन व्यक्तित्वले लिने उक्त शपथलाई हिजो शीतल निवासमा गराइएको शपथ ग्रहण समारोहसँग दाँजेर कतिपयले सामाजिक सञ्जालमा धारणा राखेको पाइएको छ । उनीहरुले मुलुकको सर्वोच्च पदमा आसिन हुनेले अरु कुनै निकायको कर्मचारी वा पदाधिकारीसँग शपथ लिनेभन्दा संविधान छोएर सबैको सामुन्ने शपथ लिनु उपयुक्त हुने धारणा राखेका छन् ।

हाम्रो संवैधानिक व्यवस्थानुसार राष्ट्रपतिलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्छ । छिमेकी भारत,अमेरिकालगायत धेरै मुुलुकमा पनि राष्ट्रपतिको शपथ ग्रहण त्यहाँका प्रधानन्यायाधीशले नै गराउने चलन छ ।
 

टिप्पणीहरू