जगन्नाथलाई भ्रष्टाचारविरोधी सञ्जालको जिम्मा

जगन्नाथलाई भ्रष्टाचारविरोधी सञ्जालको जिम्मा

भ्रष्टाचारविरुद्ध सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको सार्कस्तरीय संगठनको संयोजकमा नेपालबाट जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ । पूर्वसांसद, नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख खतिवडाको नेतृत्वमा कमिटीसमेत गठन गरिएको छ । 

उपसंयोजकमा बङ्गलादेशका जाबिर उद्दिन र सचिवमा श्रीलंकाका कबिन्द जयबर्धनेलाई चयन गरिएको छ । त्यस्तै, अन्य मुलुकका प्रतिनिधिहरुलाई सदस्यमा राखिएको छ । यो कमिटीले आगामी ६ महिनाभित्र दक्षिण एशियाका सबै देशका सांसदहरुलाई कमिटीमा प्रतिनिधित्व गराउनेछ । 

त्यस्तै, दक्षिण एशिया स्तरको संगठन निर्माण गर्ने निर्णय भएको छ । ग्लोबल अर्गनाइजेशन अफ पार्लियामेण्टको आयोजनामा मार्च ८ र ९ मा बङ्गलादेशमा भएको बैठकमा सार्क स्तरका बहालवाला र पूर्व सांसदहरुको उपस्थिति थियो । सञ्जालका सचिव अष्ट्रेलियाका जोन हाइडले यो बैठकको सहजीकरण गरेका थिए । 

सञ्जालको नेपाल च्याप्टरले गत माघ १९ गते नेपालको संघीय संसद् भवनमा झण्डै एक सय सांसद्को सहभागिता र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको आतिथ्यमा छलफल कार्यक्रम गरेको थियो । 

नेपालमा वर्तमान र पूर्व गरी करिब ६० सांसद यसको सदस्य बन्ने प्रक्रियामा रहेको बताइएको छ । विश्वका ६५ देशमा शाखा भएको सञ्जालले सांसदलाई भ्रष्ट्राचारविरुध्द लड्न सीप सिकाउने उध्देश्य राखेको संयोजक खतिवडाले जानकारी दिनुभयो ।

टिप्पणीहरू