माओवादी समूहमा प्रभु पनि जोडिए, शान्ति सम्झौताको पक्षमा उभिन अपील

सत्तारुढ नेकपा माओवादी केन्द्रसहित विभिन्न माओवादी घटकहरुले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार र शान्ति सम्झौताका पक्षधर शक्तिहरुलाई सकरात्मक भूमिका खेलिदिन पुन: आह्वान गरेका छन् । 

माओवादी पृष्ठभूमिका विभिन्न १० वटा पार्टीहरुले आज काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा पत्रकार सम्मेलन आयोजनागरी संक्रमणकालीन न्यायका पक्षमा एक्यवद्धता जनाउन शान्ति सम्झौताका पक्षधर राजनीतिक दल, नागरिक समाजलगायतलाई अपील गरेका हुन् । उनीहरुले राज्यले विगतमा विभिन्न राजनीतिक दलसँग गरेका सहमतिहरु कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन् । 

पत्रकार सम्मेलनपछि सार्वजनिक गरिएको संयुक्त अपीलमा भनिएको छ, 'अविलम्ब आवश्यक कानुन बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष अपील गर्दछौँ । विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्दन्द्दकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने तथ्य पनि स्पस्ट छ ।'  

त्यसअघि पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका महासचिव गुरुङले नेकपा एमालेले असहयोग गरेका कारण सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन सदनले पारित गर्न नसकेको बताएका थिए । जसका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्याउने पटक-पटकको प्रयास असफल भएको उनको भनाई थियो । 

संयुक्त अपीलमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा, क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कन्चन, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले हस्ताक्षर गरेका छन् । 

जनयुद्धमा भएका घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार निरुपण गर्ने शान्ति सम्झौताको भावना विपरित नियमित फौजदारी कानुन आकर्षित हुनेगरी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा परेपछि त्यसविरुद्ध एकजुट भएका माओवादीहरुले यसअघि पनि संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए । बालुवाटारमा दुई पटकसम्म छलफल गरेका उनीहरुले आज पत्रकार सम्मेलन गर्ने निर्णय गरेका थिए । 

यसअघि बालुवाटारका बैठकमा सहभागी नभएका प्रभु साह पनि आजदेखि पूर्वमाओवादी घटकहरुसँग मिसिएका छन् । तत्कालीन नेकपा विभाजन हुँदा माओवादी छोडेर एमालेमै बसेका उनी पछिल्लो समय प्रचण्डसँग निकट छन् । मङ्सिर ४ को चुनावमा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका उनले माओवादीसहितको समर्थनमा जितेका थिए । अहिले उनी आम जनता पार्टी खोलेर अध्यक्ष बनेका छन् ।

टिप्पणीहरू