रामसहायको उम्मेदवारी बदर भएन, उपेन्द्रलाई सांसद बन्न बाटो खुला

रामसहायको उम्मेदवारी बदर भएन, उपेन्द्रलाई सांसद बन्न बाटो खुला

उपराष्ट्रपति पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादवको उम्मेदवारी रध्द नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेको छ । 

सत्ता गठबन्धनका उम्मेदवार रामसहायविरुध्द नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले आज बिहान १० बजेसम्म उजुरी खण्डन हुने प्रमाण लिएर उपस्थित हुन यादवलाई बोलाएको थियो । 

पार्टीका सांसदद्वय प्रमिलाकुमारी यादव र प्रदिप यादवसहित अन्य नेताहरु लिएर तोकिएको समयमै संसद भवन पुगेका उनले आफ्नो सफाई पेश गरेपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो । योसँगै यादव सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार भएका छन् । 

तर,जसपाकै प्रमिलाकुमारी यादवको पनि उम्मेदवारी परेको छ । रामसहायको उम्मेदवारी खारेज हुने अवस्थामा मैदान खाली नगराउन सल्लाहमै प्रमिलाले उम्मेदवारी दिएकाले उनले आजै फिर्ता लिने जसपाका एक नेताले बताए । निर्वाचन अधिकृतको कार्यालयले आज पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यसअगावै उम्मेदवारी फिर्ता लिनुपर्ने हुन्छ । 

बारा-२ बाट निर्वाचित रामसहायलाई उपराष्ट्रपति जिताएर उक्त क्षेत्रमा हुने उपचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अघि सार्ने गठबन्धनमा सहमति छ ।


 

टिप्पणीहरू