उजुर हाल्नेमाथि उपराष्ट्रपतिका उम्मेदवारको लिखित प्रतिवाद

उजुर हाल्नेमाथि उपराष्ट्रपतिका उम्मेदवारको लिखित प्रतिवाद

चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपतीय निर्वाचनमा उठेका जसपा सांसद रामसहायप्रसाद यादवले आफ्नो उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै परेका उजुरीको लिखित प्रतिवाद गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले तीन पृष्ठको लिखित प्रतिवाद दर्ता गराएका छन् । प्रतिवादमा उनले उम्मेदवारी दर्ता भइसकेको र राष्ट्रपति तथा उपराष्ट्रपतिमा फरक लिंगको प्रतिनिधित्व संविधानले अनिवार्य नगरेको उल्लेख गरेका हुन् ।

हिजो आफूविरुद्ध परेका उजुरीमा महिला उम्मेदवार अनिवार्य भनिएकोमा आज यादवले आपत्ती जनाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आजै अन्तिम नामावली प्रकाशित गर्ने छ ।

निर्वाचनमा तीन महिलासहित चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट दुई महिलासहित तीन जना र एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

टिप्पणीहरू