दावी बिरोधको खण्डन गर्न जसपाका उम्मेदवार दलबलसहित बानेश्वर पुगे

दावी बिरोधको खण्डन गर्न जसपाका उम्मेदवार दलबलसहित बानेश्वर पुगे

उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा सफाई पेश गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

उजुरी खण्डन हुने सबुत प्रमाण लिएर उनी आज बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको अधिकृतको कार्यालयमा छलफल गर्न गएका हुन् । पार्टीका सांसदद्वय प्रमिलाकुमारी यादव र प्रदिप यादवसहित अन्य नेताहरु लिएर संसद भवन पुगेका रामसहाय र निर्वाचन अधिकृतबीच उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा शंकर हलमा छलफल भएको छ । 

 सत्ता गठबन्दनका उम्मेदवार रामसहायविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले आज बिहान १० बजेसम्म उजुरी खण्डन हुने प्रमाण पेश गर्न भनेको थियो । 

उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आजै उम्मेदवारलाई आफ्नो उम्मदवारी फिर्ताको मौका पनि दिइएको छ । 

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगा वा समुदायको हुनुपर्ने  रहेकाले महिलाको मात्रै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो । तर, सत्ता गठबन्धनले भने आयोगको निर्णय संविधान प्रतिकूल रहेको भन्दै रामसहायलाई उम्मेदवार बनाएका हुन् । गठबन्धनबाटै दुई जना महिलाको पनि उम्मेदवारी परेको छ । उनीहरुविरुद्ध भने उजुरी परेको छैन।
 

टिप्पणीहरू