उपमा आएर कुरो अड्कियो

उपमा आएर कुरो अड्कियो

रामचन्द्र पौडेललाई एकगठ भएर राष्ट्रपतिमा जिताएको सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिका लागि भने त्यस्तै समझदारी नहुने देखिएको छ । उपराष्ट्रपतिमा गठबन्धनभित्र एकभन्दा बढी दलको दावेदारी परेको छ । 

यसअघि आठ दलीय गठबन्धनमा जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको भनिएको थियो । जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको छ । तर, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आ-आफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । 

सिके राउत नेतृत्वको जनमतले ममता झालाई उठाउने औपचारिक निर्णय गरेको छ । पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको त्यस पार्टीका एक नेताले जानकारी दिए । 

यता, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, संविधानले तोकेको उमेर नपुग्ने भएकाले उनी उम्मेदवारका लागि अयोग्य ठहर भएकी छन् । सो पार्टीले यसबारे गठबन्धन बैठकमा थप छलफल गरेर निर्णय लिने बताएको छ । 

गठबन्धनका दलहरु आ-आफ्नै ढंगले निर्णय गर्न थालेपछि यसबारे छलफल गर्न कार्यदलको सिंहदरबारमा बसे पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सकेको छैन । बैठकमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएको सहभागी एक नेताले जानकारी दिए । 

यता, माओवादी केन्द्रले समेत उपराष्ट्रपतिमा अप्रत्यक्ष आकांक्षा राखेको छ । त्यस पार्टीका नेताहरुले पुरुष राष्ट्रपति निर्वाचित भएकाले अब उपराष्ट्रपति महिला हुनुपर्ने बताएका छन् । यसअघि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति जसपालाई दिन सहमत भैसकेको चर्चा थियो ।

टिप्पणीहरू