दिनेश थपलियालाई रमेश लेखकको फोन, तुरुन्तै नेताहरु जर्याक जुरुक

दिनेश थपलियालाई रमेश लेखकको फोन, तुरुन्तै नेताहरु जर्याक जुरुक

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बसेको सत्ता गठबन्धन कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरवारमा आज अपरान्ह बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

भोलि उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः बस्नेगरी आजको बैठक स्थगित भएको सहभागी एक नेताले जानकारी दिए । बैठकमा निर्वाचन आयोगको पछिल्लो निर्णयका सम्बन्धमा छलफल भएको छ । आयोगले आज बिहान मात्रै खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने निर्णय गरेको थियो ।

"थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराएपछि नेताहरु त्यसै उठेका हुन् । "

जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिएर रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारीमा रहेका गठबन्धनका नेताहरु निर्वाचन आयोगको पछिल्लो निर्णयका कारण दबाबमा परेपछि छलफलमा जुटे पनि निर्णय गर्न सकेनन् । कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको निर्णय संविधानको व्यवस्थाविपरित रहेको बताएका छन् । 

कार्यदलको बैठक बसिरहेका बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे आयोगको निर्णयको सम्बन्धमा चासो राखेका थिए । जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराएपछि नेताहरु त्यसै उठेका हुन् । 

यता, गठबन्धनभित्र पनि कसलाई उम्मेदवार बनाउने भन्ने एकमत देखिंदैन । नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् ।

टिप्पणीहरू