महिला उपराष्ट्रपति माग्दै निर्वाचन आयोगमा निवेदन

महिला उपराष्ट्रपति माग्दै निर्वाचन आयोगमा निवेदन

स्वतन्त्र राष्ट्रिय अभियानले आउँदो चैत ३ गते हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवार सुनिश्चित गराउन माग गरेको छ ।  

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई स्मरणपत्र बुझाउँदै अभियानले पुरुष राष्ट्रपति चुनिएकाले उपराष्ट्रपति महिला हुनुपर्ने बताएको हो । संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने प्रावधान रहेको पत्रमा स्मरण गराइएको छ । 

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेको उल्लेख गर्दै अभियानले उपराष्ट्रपति महिला नबनाए संविधानको व्यवस्था प्रतिकूल ठहरिने दाबी गरेको छ ।  

पत्रमा भनिएको छ, ‘उपराष्ट्रपतिको निर्वाचनमा संविधानको सोही धारा र विधायिकी मनसाय तथा संविधानको मर्मबमोजिम केबल महिलाहरुलाई उम्मेदवार बन्ने व्यवस्था गरिपाऊँ भन्दै यो पूर्वस्मरण पत्र निवेदन गर्दछौं ।’

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ ।

टिप्पणीहरू