भारतले चीनसँग नेपालको सम्बन्ध बिगार्न खोजेको मालेको दाबी

भारतले चीनसँग नेपालको सम्बन्ध बिगार्न खोजेको मालेको दाबी

चीनको सीमाना नजिकै मुस्ताङको फल्याक क्षेत्रमा बौद्ध कलेज खोल्न भारतले अनुमति मागेको विषयमा नेकपा मालेले आपत्ति जनाएको छ । नेपाली भूभागमा भारतले ‘मुस्ताङ बौद्ध कलेज’ सञ्चालन गर्न अनुमति मागेपछि पार्टी महासचिव सीपी मैनालीले आपत्ति प्रकट गरेका हुन् । 

तिब्बती शरणार्थीसहित विदेशी विद्यार्थीलाई बौद्ध शिक्षा दिने उद्देश्य देखाएर चीनलाई द्वन्द्वमा फसाउन खोजेको मालेको आरोप छ । मुस्ताङमा कलेज सञ्चालन गर्न दिँदा चीनको सुरक्षा चासोमा खलल पुग्ने पार्टीको ठहर छ । आज विज्ञप्ति जारी गर्दै महासचिव मैनालीले भारतको विवादास्पद प्रस्ताव स्वीकार गर्न नहुने बताए । 

‘नेपालको चीनसँगको असल छिमेकी सम्बन्धलाई तहसनहस पार्न सक्ने यस्तो कार्यबारे सचेत हुँदै भावी दुष्परिणामहरु समेतको आकलन गरी छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पूर्वघोषित राष्ट्रिय नीतिप्रति कायम रहिरहनु नेपाल सरकारको प्राथमिक कर्तव्य हो’, जारी विज्ञप्तिमा भनिएको छ ।  

साथै, भारतले ‘स्वतन्त्र तिब्बत’ अभियानलाई समर्थन गर्न यो रणनीति अप्नाएको उनको ठम्याई छ । मैनालीले भनेका छन्,‘चीनसँग सीमाना जोडिएको नेपालको उत्तरी संवेदनशील क्षेत्रमा उल्लेखित उद्देश्यका साथ उपरोक्त ‘मुस्ताङ बौद्ध कलेज’ सञ्चालन गर्दा चीनको वैध सुरक्षा चासोमा खलल पुग्ने सच्चाईलाई भूराजनीतिको महत्वबारे जानकार नेपाली जनता सहजै बुझ्दछन् ।’

टिप्पणीहरू