प्रचण्ड र माधव पदलोलुप नभएकाले पुरानो गठबन्धन ब्युँतिएको गगन थापाको दाबी

प्रचण्ड र माधव पदलोलुप नभएकाले पुरानो गठबन्धन ब्युँतिएको गगन थापाको दाबी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला जनतामाझ गरेको प्रतिबद्धताअनुसार तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताइएको बताएका छन् । पुस १० गते माओवादी केन्द्र र एमालेबीच अप्राकृतिक गठबन्धन बनेकाले जनताको म्यान्डेडअनुसार त्यसलाई सच्याएर राजनीतिलाई सही ट्रयाकमा ल्याइएको पनि उनले दाबी गरे। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘विशिष्ट परिस्थितिमा हामी गठबन्धन गरेर चुनावमा गएका थियौँ । त्यो हाम्रो रहरभन्दा पनि देशको आवश्यकता थियो । त्यसकारण गठबन्धनलाई भोट हाल्ने मतदाताको मतको कदर गर्न पनि त्यो गठबन्धन पाँच वर्ष जानुपथ्र्यो । तर, पुस १० गते हामीले गल्ती गरेका थियौँ, अहिले त्यसलाई सच्याएर पुनः एक ठाउँमा आएका छौं । यो स्वाभाविक पनि छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदको लोभ छोडेर चुनावका बेला जनतासँग गरेको बाचा पूरा गर्न अग्रसरता देखाएको भन्दै प्रशंसासमेत गरे । एमालेसँगको गठबन्धनबाटै प्रधानमन्त्री बनिरहन सक्ने सुविधा हुँदाहुँदै प्रचण्डले पुरानो गठबन्धनमा फर्किने निर्णय गरेकाले सही निर्णयलाई सही भन्नसक्नुपर्ने उनको भनाइ छ । 

‘माओवादी केन्द्रका अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए पुस १० कै गठबन्धनमा बसेर उहाँलाई सजिलो हुन्थ्यो होला’, थापाले भने, ‘हामीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो, माओवादीले पाउँदैनथ्यो । अहिलेको गठबन्धनमा काँग्रेसको उम्मेदवार बन्नुभएको छ । यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन ।’ 

त्यस्तै, महामन्त्री थापाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि राष्ट्रपति बन्न सक्ने अवस्था हुँदाहुँदै त्यसलाई छोडेर पुरानो प्रतिबद्धतामा फर्किएको बताए । पुस १० गते गल्ती भएको हो भन्ने बोध भएर सबै नेता त्यसलाई सच्याउने बिन्दुमा आइपुगेपछि गठबन्धन ब्युँतिएको उनको भनाई छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा उभिएर प्रतिनिधिसभा विघटनको आफ्नो कदमको बचाउमा बोलेकै दिनदेखि समीकरण फेर्न आफूहरु लागेको भनेका थापाले त्यसमा लुकाउनुपर्ने केही नभएको पनि उल्लेख गरे ।

टिप्पणीहरू