विपन्न विद्यार्थीलाई सरकारी छात्रवृत्ति

विपन्न विद्यार्थीलाई सरकारी छात्रवृत्ति

सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय कार्यान्वयन गर्न लागेको छ ।

केन्द्रले कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिने जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा विपन्नलक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयलाई भराउन निर्देशन दिएको छ ।

‘माध्यमिक तह कक्षा (९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई आ.व. २०८०–८१ मा विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुले देहायबमोजिम पीएमटी फाराम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन निर्णयानुसार अनुरोध छ’, जारी सूचनामा उल्लेख छ । 

विद्यालयले आफ्नो युजर र पासवर्ड प्रयोग गरी फाराम उपलब्ध गराउनुपर्ने बताइएको छ । त्यस्तै, विपन्नलक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्याएर फाराम भर्न केन्द्रले सुसूचित गराएको छ ।

विद्यालयले विद्यार्थीको फाराम केन्द्रको वेभसाइटमा अपलोड गरिदिनुपर्नेछ । फागुन १० गतेदेखि चैत ९ सम्म विद्यालयले पिएमटी फाराम भरेर चैत मसान्तभित्र अपलोड गरिसक्नुपर्ने केन्द्रको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू