राष्ट्रपतिमा आफ्नो चर्चाबारे माधव नेपालको प्रतिक्रिया : सँधै अरुका निम्ति बलिदान दिँदैनौं

राष्ट्रपतिमा आफ्नो चर्चाबारे माधव नेपालको प्रतिक्रिया : सँधै अरुका निम्ति बलिदान दिँदैनौं

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न इच्छुक रहेको आशयसहित घुमाउरो प्रतिक्रिया दिनुभएको छ । 

आज बिहान दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उहाँले आकांक्षा राख्नु र निर्णय हुनु फरक कुरा भएको उल्लेख गर्दै अप्रत्यक्षरुपमा आफ्नो चाहना व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले पावर सेयरिङ (शक्ति बाँडफाँड) मा पार्टीको भूमिका हुनुपर्ने बताउँदै सँधैभरी अरूको निम्ति मात्रै बलिदान दिन नसकिने समेत बताउनुभयो । 

‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सँधै अरूको निम्ति मात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’ 

भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा तीन ठूला दल आ–आफ्नै अडानमा देखिन्छन् । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले नेपाली काँग्रेसको उमेदवारलाई सघाउने भएपछि एमालेले अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको चर्चा छ । यसबीच अध्यक्ष नेपालको पछिल्लो प्रतिक्रिया आएको हो । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

टिप्पणीहरू