भारतको भएन भर, अमेरिकालाई गुहार्ने कहर

भारतको भएन भर, अमेरिकालाई गुहार्ने कहर

अमेरिकासँग मागिने, भारतलाई उपल्लो स्तरबाट भनिने र चाइनिजलाई बेचिदिने ! अहिले पर्यटन मन्त्रालयमा यस्तै तयारी चलिरहेका छन् । अमेरिकी राजदूत डिम थम्पसनले नेपालका विमानस्थलको स्तारोन्नतिका लागि प्राविधिक सहयोग गर्ने त भने तर त्यस्तो सहयोगको खाकाबारे अहिलेसम्म छलफल भएकै छैन । अब भने नेपाल सरकारले औपचारिक अनुरोध गर्दै सहयोग माग्ने बेला आएको छ । त्यो हो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा इन्स्ट्रुमेन्टल ल्याण्डिङ रेगुलेसन (आइएफआर) प्रणाली जडान । उपकरण जडान भएर पनि सिमानानजिकै भएको निहुँमा भारतले चलाउन नदिएपछि बिहानभरि हुस्सुु लागेर जहाज अवतरण र उडानकार्य प्रभावित हुँदा अचेल भैरहवामा प्रायः दिउँसो २ बजेसम्म उडान हुन सकेको छैन । कारण हो, त्यहाँ ‘भिएफआर’ प्रणालीअनुसार उडान र अवतरण सम्भव छ । ‘भिएफआर’ भनेको पाइलटले आँखाले हेरेर जहाज उडाउने र अवतरण गराउने काम हो । यदि, आइएफआर प्रणाली जडान भयो भने विमान चालकको आँखाले नदेखे पनि उपकरणले दृश्यलाई निर्देशित गर्छ र त्यस आधारमा उडान र अवतरण सम्भव हुन्छ ।

अर्को समस्या छ, भारतसँगको रुट अनुमतिमा । भारतले लखनउतर्फबाट विदेशी विमान भित्रिन दिएको अवस्थामा सहज र सुविधाजनक उडान सम्भव हुन्छ । तर, अहिलेसम्म त्यस्तो अनुमति दिएको छैन । यद्यपि, पहिलाको भन्दा केही सकारात्मक संकेत आएको छ । भारतीयपक्षले दुई देशका प्राविधिकबीच छलफल गर्ने भनेको छ । नत्र, विदेशबाट आउने जहाजहरु सिमरा भएरै छिर्नुपर्ने अवस्था छ । त्यस्तै, महेन्द्रनगर नाकाबाट रुट इनबाउण्ड (भित्रिने) अनुमति भारतले दिएमा विमानस्थल सञ्चालन सहज हुन्छ । अहिलेसम्म उक्त नाकाबाट आउट बाउण्ड (बाहिरिने) सुविधामात्रै छ ।
अर्कातिर, नेपाल वायुसेवा निगमले खरिद गरेका चिनियाँ जहाजहरु बाइ वन गेट वन फ्री जसरी त ल्याइयो, तर चलाउन नसक्दा अहिलेसम्म ग्राउण्डेड छन् । ती जहाज कसैले लान्छ भने बेच्ने निर्णय भएको छ । बोलकबोलको माध्यमबाट बिक्री गर्ने कुरा त भयो तर किन्ने पक्ष अहिलेसम्म फेला परेको छैन । त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटीबारे योजना आयोगसँग सल्लाह गर्न बाँकी छ ।

अर्कातिर कम्प्युटर प्रणालीले धोका दिँदा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल केही दिन अस्तव्यस्त रह्यो । विदेशबाट आउने यात्रु, जसलाई अनअराइभल भिसा दिनुपर्छ, उनीहरुको विवरण अध्यावधिक गर्ने सिष्टमको सर्भर डाउन हुँदा त्यस्तो भएको हो । यस्तो हुनुका पछाडि विमानस्थलका कर्मचारी वा प्राविधिकमात्र दोषी छैनन् । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयको हाताभित्र रहेको गभर्मेन्ट इन्ट्रिगिटी डेटा सेन्टर (जिआइडिसी) ले सम्पूर्ण सरकारी निकायका सर्भरलाई नियन्त्रित गरेको हुन्छ । त्यहीँको प्राविधिक समस्याका कारण सर्भर डाउन भएको थियो । जिआइडिसीले सिष्टम अपग्रेड गर्ने क्रममा त्यस्तो भएको भनेको छ । तर, विमानस्थलमा शनिबारदेखि नै आन्तरिक सिष्टमबाट काम शुरु भयो । जिआइडिसी गृहको हातामा भए पनि त्यो निकाय पहिला विज्ञान प्रविधि र अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत पर्छ । 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरको घुस मुद्दा अख्तियारमा पठाइएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको थाइ स्माइल एयरवेजका काठमाडौंस्थित जिएसए रवि सिंहमार्फत घुस मागिएको अडियो बाहिर आएपछि उनी विवादमा तानिएका थिए । अडियोमा रविले सोधेका छन्, ‘म पैसा त दिइहाल्छु, तपाईंले रिसिप्ट दिनसक्नुहुन्छ ?’ प्रेमनाथको जवाफ आयो, ‘अण्डर टेबुलको रिसिप्ट कहाँ हुन्छ ?’ रवि दरबारमार्गस्थित एसियन ट्राभलका मालिक हुन् । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै टर्मिनलका प्रमुखहरु यतिबेला निलम्बित छन् । डोमेस्टिक प्रमुख पूर्ण चुडालले हिरासतबाट अख्तियारलाई बयान दिँदै भनेका छन्– ‘घरमा राख्दा सुरक्षित नहुने भएर मैले नगद, रक्सी र मोबाइलहरु अफिसको सेफमा राखेको हुँ । घुस खाएको होइन ।’
 

टिप्पणीहरू