सरकारले नै मोबाइल माफियालाई संरक्षण गरेको व्यवसायीको आरोप

सरकारले नै मोबाइल माफियालाई संरक्षण गरेको व्यवसायीको आरोप

नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली लागू गर्न माग गरेको छ ।   आज राजधानीको लैनचौरस्थित मल्ल होटलमा पत्रकार सम्मेलन गर्दै संघले सरकारद्धारा अवैध कारोबारमा संलग्न माफियाहरुलाई संरक्षण गर्न एमडीएमएस प्रणाली खारेज गरिएको आरोपसमेत लगाएको छ । 

विदेशमा बस्ने नेपाली नागरिकको हित संरक्षण गर्ने नाममा मोबाइल व्यवसायीलाई विस्थापित गराउने षड्यन्त्र रचिएको संघको भनाइ छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारबाट विदेशमा बस्ने नेपाली नागरिकको हित संरक्षण गर्ने नाममा आएको निर्णयले मोबाइल व्यवसायीलाई विस्थापित गराउने, राज्यको अर्बौं राजस्व गुम्ने र अवैध कारोबारमा संलग्न माफियाहरुले प्रश्रय पाउने देखिन्छ ।’

नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस १५ गतेदेखि एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको थियो । 

वैदेशिक रोजगारीबाट फर्किनेले ल्याउने वा पठाउने फोन नेपालमा चल्दैन भन्नेजस्ता अफवाह र ‘नो रेमिट्यान्स’ को भयले प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको व्यवसायीहरुको ठहर छ । एमडीएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या देखिने भनि भ्रामक प्रचार गरिएको संघको दाबी छ ।

 

संघले विदेशमा रहेका नेपालीलाई भन्सार छुट तथा निःशुल्क एमडीएमएसको व्यवस्था गर्न आग्रह पनि गरेको छ ।

टिप्पणीहरू