बालुवाटारमा राति सचिव,साँझ मन्त्रीहरु

बालुवाटारमा राति सचिव,साँझ मन्त्रीहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्ला दिनमा औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा पनि उत्तिकै व्यस्त हुन थाल्नुभएको छ । सत्ता गठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तर सरकारलाई गरेको समर्थन कायम राख्ने निर्णय गरिरहँदा यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहानैदेखि भेटघाट र छलफल रातिसम्म निरन्तर भएको पाइएको छ ।

हिजो राति साढे ८ बजे बालुवाटामा मुख्यसचिवसहित रक्षा र गृह सचिव एकै समयमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीसँग झण्डै एक घण्टा गरिएको कुराकानीमा मुख्यसचिव शंकरदास बैरागी,रक्षा सचिव किरणराज शर्मा र गृहसचिव विनोदप्रकाश सिंहको उपस्थिति थियो ।

हिजै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग झण्डै एक दर्जन मुलुकका कम्युनिस्ट,वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिले बालुवाटारमा नै भेट गरेका थिए ।

बिहान प्रधानमन्त्री दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको थियो । बिहान ८ बजेदेखि साढे ८ बजेसम्म कुराकानी भएपछि रविले दिउँसो पार्टी बैठकमा सरकारबाट हट्ने निर्णय गराएका थिए ।

रवि निस्केपछि परराष्ट्र सचिव भरतराज पौड्यालले अस्ति बेलुका युरोप (ब्रसेल्स) बाट फर्किएपछि उता भएको छलफलवारे बृफिङ्ग गरेको बुझिएको छ । प्रधानमन्त्रीसँग सवा ९ बजेदेखि डेढ घण्टा सचिव पौडेलको कुराकानी भएको र त्यसपछि पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले  भेटवार्ता गरेको बताइन्छ ।

साँझ साढे ६ बजे बालुवाटारमा प्रधानमन्त्री दाहाल र रक्षामन्त्री हरिप्रसाद उप्रेतीबीच ४५ मीनेट कुराकानी भएको थियो । मन्त्री उप्रेती निस्केपछि त्यहाँ नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्मा पुगेको बताइन्छ । प्रधानमन्त्रीसँग चन्द र विश्वकर्माले करिब आधा घण्टा भेटवार्ता गरेका थिए । 

त्यसपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्री राजीनामा बुझाउन हिजो साँझ पौने ८ बजे बालुवाटार पुगे ।

टिप्पणीहरू