सरकारलाई एमालेको एक दर्जन सुझाव

सरकारलाई एमालेको एक दर्जन सुझाव

नेकपा एमालेले किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमालेको कृषि तथा पशुपन्छी विभागले मलको सहज आपूर्तिको सुनिश्चित गर्न, वनस्पति र कुहिने फोहोरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोष्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था गर्न भनेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा विभाग प्रमुख गिरधारीलाल न्यौपानेको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा हिजो बसेको बैठकले सरकारलाई १२ बुँदे सुझाव दिने निर्णय गरेको थियो । 

बैठकमा पोलिट्ब्यूरो सदस्य तथा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह पनि सहभागी थिइन् । उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्न, कृषि बालीमा खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्यालाई दीर्घकालीन व्यवस्थापन गर्न, बजारहरुको प्रभावकारी नियमन गर्न, कृषि बाली तथा पशुपन्छीका बीऊ तथा नश्लको आपूर्ति गर्न भनिएको छ । 

त्यस्तै, निजी लगानीमा स्थापित शीत भण्डारहरुको आसपासमा भण्डारणयोग्य बाली लगाउन किसानलाई प्रोत्साहन गरी भण्डारहरुको प्रभावकारी रुपमा उपयोग गर्न पनि सुझाव दिइएको छ ।

टिप्पणीहरू