सुदूरपश्चिमे नेताहरु डिल्लीबजार जेल धाएको धायै

सुदूरपश्चिमे नेताहरु डिल्लीबजार जेल धाएको धायै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजका दिनसम्म विश्वासको मत लिएका छैनन् । विश्वासको मत नलिएका कारण हालसम्म सरकार विस्तारसमेत हुन सकेको छैन ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले ३० दिन अर्थात् आगामी शुक्रबारअघि विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक दायरा छ । मुख्यमन्त्री आफूलाई विश्वासको मत दिलाउन नागरिक उन्मुक्ति पार्टीसँग अनुनय गर्दै डिल्लीबजार कारागार पुगेका छन् । जेलमा रहेका उक्त पार्टीका संरक्षक रेशम चौधरीसँग कुराकानी गर्न मुख्यमन्त्री त्यहाँ गएका हुन् ।

आ–आफ्नोतर्फबाट लबिङ गर्न काँग्रेस प्रदेश सभामा संसदीय दलका नेता कमल शाह,समाजवादी दलका नेता दीर्घ सोडारी,काँग्रेस सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा छुट्टाछुट्टै डिल्लीबजार धाएका हुन् ।

विश्वासको मतबारे कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टी अस्ति आफ्ना सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि थप बिच्किएको छ । चौधरी गत बिहीबार पक्राउ परेपछि जेल चलान भएका छन् । उनीलगायत तीन जनालाई १३ वर्षअगाडि जलाएको ट्याक्टर काण्डमा  कैलाली जिल्ला अदालतले छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

यता रेशमको पार्टीले भोलिसम्म चौधरीलाई रिहा नगरे सरकारलाई विश्वासको मत नदिने संकेत गरेको छ । सरकारले १० बुँदे सहमति विपरीत सांसदलाई पक्राउ गरेको उसको आरोप छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले,माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका हुन् ।

टिप्पणीहरू