अबको अर्थमन्त्री मै हुँ भन्दै दिल्लीमा बिनोद चौधरीको भव्य भोज

अबको अर्थमन्त्री मै हुँ भन्दै दिल्लीमा बिनोद चौधरीको भव्य भोज

नेपाली काँग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरीले नयाँ दिल्लीमा भव्य भोजको आयोजना गरेका छन् । उनले केही दिनअघि भोज गरेर त्यहाँका उच्चपदस्थ सरकारी अधिकारी र व्यापारी समूहलाई निम्तो दिएका थिए । आमनिर्वाचनमा अत्यधिक बहुमतसहित विजयी भएको खुशीयाली र भावी अर्थमन्त्रीको प्रोजेक्सनस्वरुप उनले दिल्लीमा आयोजना गरेको भोजमा थुप्रै गन्यमान्य पाहुनालाई निम्ताएका थिए ।

गत आमनिर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएपछि उनले नयाँ सरकार गठन हुनुअघि नयाँ दिल्ली पुगेर भोज आयोजना गरेका हुन् । सँधै हवाई उडानबाट जाने गरेका उनी त्यसपटक भने स्थलमार्ग हुँदै नयाँ दिल्ली गएको स्रोतको दाबी छ ।

"भोज दिल्लीको इन्टिमो, डिएलएफ क्यामेलिआजमा डिसेम्बर ७ अर्थात गत मंसिर २१ गते साँझ ८ बजेपछि आयोजन गरिएको थियो ।"

छोरा बरुण र बुहारी अनुश्रीको तर्फबाट पठाइएको निम्तो कार्डमा चौधरीले चुनाव जितेको खुशीयालीमा भोज गरेको उल्लेख छ । एउटा व्यवसायीले प्रत्यक्ष आमनिर्वाचनमा विजयी भएर प्राप्त गरेको उक्त उपलब्धीलाई छोरा बरुणले ‘कोशेढुंगा’ भनेका छन् । त्यही खुशी बाँड्न आयोजन गरिएको भोजमा सहभागी हुन बाँडिएको कार्ड अंग्रेजीमा लेखिएको छ । भोज दिल्लीको इन्टिमो, डिएलएफ क्यामेलिआजमा डिसेम्बर ७ अर्थात गत मंसिर २१ गते साँझ ८ बजेपछि आयोजन गरिएको थियो ।

आफूलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष प्रतिनिधि भन्दै त्यतिबेला दिल्ली पुगेका उनीबारे भारतीयहरुले लैनचौरमार्फत सोधनी गर्दा वास्तविकता खुलेको हो । भारतीयहरुले चौधरीको विशेष प्रतिनिधि भन्ने दाबीलाई बालुवाटारको किचेन क्याबिनेटमा सोधपुछ गरेपछि अर्कै अर्थ लगाएका हुन् ।

सोही सत्यतापछि उनको ‘भव्य’ भोजमा भारत सरकार र भारतीय जनता पार्टीको तर्फबाट विदेश मामिला प्रमुख विजय चौथाइवाले मात्रै सहभागी भएको बताइएको छ । उनले आफूलाई काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने नयाँ सरकारमा अर्थमन्त्री ‘कन्फर्म’ भन्दै कतिपय भारतीयलाई आश्वस्त तुल्याएका थिए ।

उनले भावी अर्थमन्त्रीको रुपमा सम्पर्क कार्यालय समेत व्यवस्था गरिसकेको चौधरी ग्रुप निकटस्थहरुको भनाइ छ । कार्यालयमा एक जना भण्डारी थरका सञ्चारकर्मीलाई नियुक्त गरेका थिए । 

गत पुस पहिलो साता सम्पन्न काँग्रेस संसदीय दलको चुनावको अघिल्लो रात उनले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री देउवा, गृहमन्त्री खाँण र उपसभापति पूर्णबहादुर खड्कासँग झण्डै दुई घण्टा कुराकानी गरेका थिए । भोलिपल्टको निर्वाचनलाई लक्षित गर्दै चौधरी आवश्यक थैली व्यवस्थापनको वचन दिएर राति १० बजे रविभवनस्थित निवास फर्केको र भोलिपल्ट शेखर-गगन खेमाका ८ जना साँसद चोरी भएको उतिखेरै चर्चा थियो ।

टिप्पणीहरू