पर सर्ने परम्परालाई नै पर सार्दा...

पर सर्ने परम्परालाई नै पर सार्दा...

पर सर्नु, पन्छिनु, छुई हुनु, छाउ हुनु, नछुने हुनु अथवा महिनावारी हुनु जे भने पनि कुनै महिला सन्तान उत्पादनका लागि परिपक्व हुने प्रक्रिया नै मासिक श्राव वा रजश्वला हो । पाठेघरमा सन्तान उत्पादनका लागि तयार रहेको अण्ड शुक्रकिटसँग मिलन नभएपछि फुटेर रगतसँगै योनिमार्ग हुँदै बाहिरिने प्रक्रियालाई मासिक श्राव भनिन्छ । हरेक महिनामा दोहोरिने भएकाले नै यसलाई महिनावारी वा मासिक श्राव भनिएको हो । यही सामान्य चक्रलाई समाजले अनेकन् व्याख्या गर्दै आएको छ । पर सरेको भनेर नछोइने, छुट्टै राख्ने, घाम हेर्न नदिने, अलग्गै बसाउने गरिरहेको समाजमा कोही कसैले यस्तो परम्परालाई नै पर सार्दिएर महिनावारी भएका बखत पनि सँगै बस्ने, अन्य समय र महिनावारी भएको बेलाबीच कुनै भेदभाव नगर्ने, पूजाआजा, धार्मिक कार्य, भातभान्सा आदि इत्यादि गर्दा के होला ?

पक्कै पनि धेरैले यसलाई सहजै स्वीकार्दैनन् । एकाध मान्छेबाहेक यसो गर्ने परिवारमाथि ‘के गरेको ?’, ‘किन गरेको ?’, ‘यस्तो गर्नु पाप हो’ भन्दै औंला तेस्र्याउनेहरू हुन्छन् नै । त्यसो त, नेपाली समाजमै केही यस्ता जातीय समुदाय छन्, जसले यस परम्परालाई मान्दैनन् अर्थात् उनीहरू महिनावारीलाई अलग्गै सोच राखेर व्यवहार गर्दैनन् । ब्राह्मण, क्षेत्रीलगायतका समुदायमा भने सदियौँदेखि किशोरी पहिलोपटक महिनावारी हुँदा २० दिनदेखि एक महिनासम्म नै लुकाउनेदेखि जीवनभर महिनावारी भएकी महिलालाई अलग्गै राख्ने, स्वस्थकर व्यवहार नगर्ने, भातभान्सा, पूजाआजा, पानी बाराबार आदि गर्ने चलन छ ।

‘अशिक्षित समाजको उपज’ भनेर संज्ञा दिइँदै आए पनि शिक्षित परिवारमै कहीँ न कहीँ कुनै न कुनै रूपमा यो प्रक्रियालाई परम्पराका रूपमा निरन्तरता दिइँदै आएको पाइन्छ । ‘हाम्रो घरमा त केही बारिन्न’ भन्नेहरूका घरमा महिनावारी भएकी महिलाले ‘भात त नपकाएको हो नि, सुत्ने विस्तरा, कोठा अलग्गै छैन क्यारे’, ‘पूजा मात्रै नगरेको त हो नि, हामी सँगै खान्छौँ क्यारे’, ‘चारै दिन त हो नि, आराम पनि हुन्छ, भेदभाव नै गरेको चाहिँ होइन है’ भन्नेजस्ता व्यवहार नभएका होइनन् । दिनभरि ‘महिनावारी पाप होइन’ भनी भाषण सुनेर÷गरेर घर गएकी महिलाले पनि आफैँ महिनावारी हुँदा छोइछिटो बार्ने र महिनावारी भएकी छोरीलाई ‘पूजा कोठामा नजा है’ भनेका उदाहरण त कति कति । हामी यी र यस्तै परम्परामा जेलिएका छौँ किनकि पुस्तौँदेखि हाम्रो दिमागमा महिनावारीबारे अनेक धारणालाई जबरजस्त स्थापित गराइएको छ ।

यस्तो धारणा बदल्न सामान्य रूपमा केही होइन, यो सामान्य प्रक्रिया हो भन्दै भाषण गरेर वा गोष्ठी र सेमिनारले मात्रै पक्कै हुँदैन । भनिन्छ, परिवर्तनको सुरुवाती झिल्को सानो हुन्छ तर त्यसले विशाल परिणाम ल्याउन सक्छ । मैले यही पुस ९ गते शनिबार देशको राजधानीमा यस्तै एउटा झिल्कोसँग साक्षात्कार गर्न पुगेँ । चिरपरिचित पत्रकार दम्पति प्रकाश सिलवाल र यशोदा अधिकारीले आफ्नी ११ वर्षीया छोरी प्रयत्ना सिलवाल पहिलोपटक महिनावारी भएको भनेर सार्वजनिक स्थलमा आफन्त, साथीभाइ भेला गराएँ । छोरीलाई आशीर्वादस्वरूप टीकामाला लगाउने कार्यक्रम भयो र उनको खुशीका लागि केक काटियो । भेला भएका सबैले उनले काटेको केक खाए, सँगै बसेर चिया कफी खाए, तस्बिर खिचाए, आफ्नो घरमा भएका, भोगेका अनुभव सुनाए ।

केही पाठकलाई ‘यो कुरा पंक्तिकारले किन गरिरहेको ? सामान्य त हो नि, के नौलो भो र ?’ भन्ने लाग्ला तर पाठकवर्गमा मेरो अनुरोध धेरै परिवारका लागि यो कुरा भिषण आश्चर्यजनक, नौलो र पापयुक्त हो । धेरै समुदायले अझै पनि छाउगोठ भत्काइसकेका छैनन् । धेरै परिवारले छोरी, बुहारीलाई अलग्गै कोठामा राखिरहेकै छन् । त्यसैले पत्रकारद्वय प्रकाश र यशोदाले समाज पर सरेको भनेर बार्दै आएको गलत परम्परालाई नै पर सार्दिएर गरेको कामको खुलेर प्रशंशा गरौँ र ती छाउगोठसम्म यो सन्देश पु¥याऊँ ।

अँ, म प्रयत्ना सिलवालको महिनावारी उत्सवको प्रसंगमा थिएँ । त्यसदिन प्रयत्नाले त्यहाँ भेला भएका धेरैका कुरा सुनिन् । कसैले २०÷२२ दिनसम्म लुकेका, कसैले अलग्गै घरमा बसेका, कसैले बुबा–दाजुभाइ देख्न नपाएका, कसैले अझै पनि बारिरहेका । उनको बालमष्तिस्कले कति कुरा ग्रहण ग¥यो होला थाहा भएन । तर समयसँगै उनी र उनका बाबुआमाले समाजको परिवर्तनका लागि गरेको विद्रोह बुझ्नेछिन् । राजधानी काठमाडौँमै हुर्केकी उनले जब जब काठमाडौँमा लुकेर जरो गाडेको पर सर्ने परम्परा र गाउँसम्म शासन गरिरहेको छाउपडी बुझ्नेछिन् तब उनी आफ्ना अनुभवसँगै परिवर्तनका लागि लड्नेछिन् । नानुलाई आशीर्वाद र शुभकामना !

उसो त २०६३ सालमा न्युन खर्चमा पुस्तक विमोचन गरेर प्रगतिशील विवाह गरेका प्रकाश–यशोदाको जोडी छोराछोरीको जन्म, न्वारन, पास्नीजस्ता धार्मिक कार्य पनि समयानुकूल परिवर्तन गर्ने र साइत कुसाइतको अन्धविश्वासमा नपर्ने नमुना जोडी हो । यो दम्पतीका लागि छोरी महिनावारी हुनु नियमित सामान्य प्रक्रिया थियो । यसैपनि परम्पराका नाममा महिनावारीलाई बारेर अलग्गै व्यवहार नगर्ने उनीहरूका लागि उत्सव मनाउनु आवश्यक काम थिएन । तर समाज सबै यो दम्पतीको जति प्रगतिशील भइसकेको छैन । हामी अझै पनि अरुले गरेका नयाँ कार्यबाट सिक्दै आफूलाई परिवर्तन गराउँदै छौँ त्यसैले यो दम्पतीले छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाइदियो र हामीले पनि महसुस गर्न पायौँ कि यो साँच्चै आवश्यक थियो ।
 

टिप्पणीहरू