माधव र उपेन्द्र प्रचण्डसँगै,देउवाको निम्तो महतलाई

माधव र उपेन्द्र प्रचण्डसँगै,देउवाको निम्तो महतलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन नजिकिंदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिन थालेको छ । राजनीतिक पहलकदमी आफ्नो पक्षमा पारेर सत्तामा पुग्न निरन्तर छलफलमा रहेका शीर्ष नेताहरु आज पनि त्यस्ता भेटघाट र संवादमा व्यस्त देखिए । 

आज बिहानै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा रहेको दुई नम्बर भवनमा उहाँहरुले छलफल गर्नुभएको हो । प्रधानमन्त्री र अध्यक्ष नेपालबीच कुराकानी चलिरहेका बेला जसपा अध्यक्ष उपेन्द्र यादव पनि उक्त छलफलमा जोडिनुभएको छ । तीन नेताले झण्डौ एक घण्टा छलफल गरेको बताइएको छ । 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको जसपाले सरकारमा जानेबारे निर्णय गरेको छैन भने एकीकृत समाजवादी प्रतिपक्षमा छ । समाजवादी र जसपालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ समीकरण बनाउन लागेको चर्चा पनि चलिरहेको छ । देउवाले अध्यक्ष नेपाल र यादवसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो। 

प्रचण्डलाई विश्वासको मतमा असफल गराएर सत्तामा फर्किने दाउमा देखिनुभएका देउवाले आज पनि आफ्नो भेटघाटलाई निरन्तरता दिनुभएको छ । केही दिनयता पार्टीभित्र र बाहिर लगातार भेटवार्ता गरिरहनुभएका उहाँले आज बिहानै आफ्ना विश्वासपात्र डा. प्रकाशशरण महतलाई निवासमै बोलाएर भेट्नुभएको हो । 

सभापतिलाई भेट्न प्रवक्ता महत साढे १० बजेतिर धुम्बाराहीस्थित देउवा बस्ने भाडाको घरमा पुगेका थिए ।
 

टिप्पणीहरू