भारतमा कोरोना देखिएपछि बैतडीमा चिन्ता

भारतमा कोरोना देखिएपछि बैतडीमा चिन्ता

जिल्ला प्रशासन कार्यालय, बैतडीले कोरोनाको नयाँ भेरियन्ट र लहरबाट जोगिन विशेष आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

खुल्ला सिमाना भएको भारतलगायत केही मुलुकमा संक्रमण बढेको उल्लेख गर्दै प्रशासनले सजग रहन सूचित गराएको छ । कोरोनाको जोखिम र असर नेपालमा पनि पर्नसक्ने प्रशासनको ठहरपछि उक्त आग्रह गरिएको हो । 

प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक काम नपरी भीडभाड हुने सार्वजनिक स्थलमा नजान, सार्वजनिक यातायात तथा बढी भीडभाड हुने स्थानमा जानुपर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरिएको छ । 

त्यस्तै, एकअर्कामा भौतिक दूरी कायम राख्नेलगायत स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न–गराउन भन्दै आमनागरिकलाई सचेत गराइएको छ । हालसम्म कोरोनाको बुस्टर डोजको मात्रा लगाउन छुटेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन प्रशासनले भनेको छ ।

टिप्पणीहरू