चार्ल्स शोभराजलाई देश निकालाकाे तयारी

चार्ल्स शोभराजलाई देश निकालाकाे तयारी

सर्वोच्च अदालतको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई मुलुकबाट बाहिर पठाउने तयारी थालिएको छ । उनलाई आज जेलबाट सोझै अध्यागमन विभाग लैजान प्रहरीले आवश्यक तयारी गरेको बताइएको छ ।

उनलाई आज मध्यान्ह अगावै कालिकास्थान, डिल्लीबजारमा रहेको अध्यागमन विभागमा पुर्याउन लागिएको हो । ‘सिरियल किलर’ को रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएका चार्ल्सलाई सबै प्रक्रिया पूरा गरेर अध्यागमन विभागले सोझै विमानस्थलबाट उनको देश फ्रान्स पठाउने छ । 

काठमाडौंस्थित फ्रान्सेली राजदूतावासको समन्वयमा उक्त कार्य भइरहेको बताइन्छ । यता, चार्ल्सले भने केही दिन काठमाडौंको अस्पतालमा मुटुको उपचार गर्ने व्यवस्था मिलाउन अनुरोध गरेपनि अध्यागमन कानुनले उनलाई  जेलबाट होटलमा गएर बस्ने सुविधा नदिएको सरकारी अधिकारीहरु बताउँछन् ।

जेलमा छँदै आफ्नै कानुन व्यवसायी शकुन्तलाकी छोरी निहिता विश्वाससँग विवाह गरेका उनले जेलबाट छुटेपछि आज वा भोलि बौद्धस्थित होटल हायातमा भव्य विवाह भोजको तयारी समेत गरेका थिए । तर, जेलबाट अध्यागमन हिरासतमा राखेर सोझै विमान चढाएर फ्रान्स पठाइने भएपछि उनको उक्त योजना पनि भताभुङ भएको छ ।

टिप्पणीहरू