कुन जिल्लाबाट कति कैदी बन्दीले खसाले मत ?

कुन जिल्लाबाट कति कैदी बन्दीले खसाले मत ?

सरकारले यो वर्षदेखि जेलमा रहेका कैदी बन्दीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको थियो । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले ‘कैदीबन्दीहरुको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नु गराउनु’, भनी अन्तरिम आदेश जारी गरिदिएपछि उनीहरुले मतदान गर्न पाएका हुन् । 

चुनावमा भोट हाल्न पाउने संवैधानिक अधिकार हनन भएको र उनीहरुले पनि भोट हाल्न पाउनुपर्ने भन्दै कानुनका विद्यार्थी निशान्त पोखरेलले सर्वोच्चमा रिट दर्ता गराएका थिए । कैद तोकिएका व्यक्तिको हिँड्डुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेकका अन्य स्वतन्त्रता निलम्बन नहुने भन्दै सर्वोच्चले नामावली संकलन गर्न आदेश दिएको थियो । 

हालै मात्र सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैदीबन्दीले पनि मतदान गर्न पाए । सरकारले कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाए पनि सो खासै प्रभावकारी देखिएन । कैदीबन्दीलाई लक्षित गरेर कारागारभित्रै अस्थायी मतदान केन्द्रको व्यवस्थापन मिलाइएको थियो । 

सर्वोच्चले कैदीबन्दीले पनि मतदान गर्न पाउनुपर्ने आदेश दिएपनि निर्वाचन आयोगको कमीकमजोरीका कारण एकदमै न्यूनले मात्र मतदान गर्न पाए । मतदान गर्न मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने आयोगको प्रावधान थियो । कैदीबन्दी र कर्मचारीलाई समानुपातिकतर्फका उम्मेदवारलाई मतदान गर्न दिइयो । आयोगले कैदीबन्दीलाई अस्थायी मतदाताको सूचीमा राखेको थियो । 

नेपालका ७७ वटा जिल्लामध्ये पाँच जिल्लामा कारागार छैन । धनुषा, बारा,भक्तपुर,पूर्वी नवलपरासी र पूर्वी रुकमबाहेक ७२ जिल्लामा ७४ कारागार छन् । दाङको घोराही र तुल्सीपुर गरी दुई ठाँउमा तथा काठमाडौंको जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा दुई वटा कारागार सञ्चालनमा छन् । 

"केन्द्रीय कारागारमा तीन हजार चार सय कैदीबन्दी रहेकोमा जम्मा २० जनाले मतदान गर्न पाएका थिए ।"

केन्द्रीय कारागारमा तीन हजार चार सय कैदीबन्दी रहेकोमा जम्मा २० जनाले मतदान गर्न पाएका थिए । मतदाता नामावलीमा नाम नभएको कारण न्यूनले मात्र मतदान गर्न पाएको केन्द्रीय कारागार विभागका महानिर्देशक चक्रपाणी पाण्डेले बताए । 

त्यस्तै, नख्खुका एक हजार चार सय कैदीबन्दीमध्ये जम्मा ५० जनाले मतदान गर्ने मौका पाए । विभागले दिएको तथ्याङ्कअनुसार काभ्रेमा दुई सय ७१ कैदीबन्दीमध्ये ८८ ले मतदान गरेका थिए । 

७१ कैदीबन्दी रहेको जिल्ला कारागार अर्घाखाँचीमा २८ जनाले मात्र भोट खसालेका थिए । तेह्रथुममा ८६ कैदीबन्दी रहेका छन् । तीमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएका ३६ जनाले मतदान गरे । 

यता, रुपन्देहीमा ५७ जनाले भोट हाल्ने मौका पाए । जिल्ला कारागार रुपन्देहीमा चार सय ५५ कैदीबन्दी छन् । दुई सय ३० कैदीबन्दी भएको जिल्ला कारागार उदयपुरमा ६२ जनाको मात्र अस्थायी मतदाता नामावलीमा नाम थियो । 

ओखलढुंगा कारागारका ९४ कैदीबन्दीमध्ये जम्मा २५ ले मतदान गरेका थिए । ८७ कैदीबन्दी भएको जिल्ला कारागार धनकुटाका ४० जनाले भोट खसाले । सल्यानका एक सय २१ मध्ये १८, तनहुँको दुई सय ९५ मध्ये ५४, मकवानपुरको नौ सय ९१ मध्ये २८, सुनसरीको एक हजार ७९६ मध्ये ४० जनाले भोट हाले । 

त्यसैगरी, ताप्लेजुङका ४६ कैदीबन्दीले मतदान गरे । यहाँ एक सय ४७ कैदीबन्दी रहेको ताप्लेजुङ जिल्ला कारागारले जनाएको छ । दुई सय ७२ कैदीबन्दी भएको इलाममा ६१ जनाले मत हालेका थिए । यता, सिराहामा ६ सय ६८ मध्ये एक सय १३ को मात्र अस्थायी मतदाता नामावलीमा नाम समावेश थियो । 

सप्तरीमा ५८ कैदीबन्दीले मतदान गरेका थिए । यहाँ कैदीबन्दीको संख्या तीन सय ६३ छ । रौतहटका तीन सय ८४ कैदीबन्दीमध्ये ७३, बर्दियाका चार सय ४० मध्ये २९, कैलालीका ६ सय १५ मध्ये ३४, कञ्चनपुरका चार सय ३४ मध्ये २९, बैतडीका ७४ मध्ये पाँचले मतदान गर्न पाएका थिए । 

त्यस्तै, चितवनका सात सय ९१ मध्ये एकसय एकको नामावलीमा नाम थियो । तर, दुई जना छुटेको हुनाले जम्मा ९९ ले मात्र मत हाले । दुई सय ८० कैदीबन्दी भएको पाल्पामा ६१ ले मात्र मतदान गर्न पाएका थिए । रामेछाप जिल्ला कारागारमा तीन सय ३० कैदीबन्दी छन् । जसमध्ये ५८ ले मतदान गरे । 

कास्कीका आठ सय ५२ कैदीबन्दीमध्ये ६ ले मात्र मतदान गरेको प्राप्त तथ्याङ्कमा उल्लेख छ । एक हजार ६७ कैदीबन्दी रहेको मोरङमा जम्मा एक सय ९८ ले भोट हाल्न पाए । पर्सामा एक हजार ४५८ कैदीबन्दी रहेकोमा ३६ जनाले मतदान गरेका थिए । 

जिल्ला कारागार डोल्पामा १९ कैदीबन्दी र एक थुनुवा गरी २० जनाले कैद भुक्तान गरिरहेका छन् । सजाय काटिरहेकामध्ये ६ जना मतदान गर्नबाट वञ्चित भए । जिल्ला कारागार रसुवामा ८० कैदीबन्दी रहेका छन् । तर, जम्मा १४ जनाले मतदान गर्ने मौका पाए । हुम्लामा १८ कैदीबन्दी रहेकोमा १६ ले भोट हालेका थिए । 

त्यस्तै, दाङको घोराही कारागारबाट ५० र तुलसीपुरबाट ९१ कैदीबन्दीले मतदान गरे । घोराहीमा तीन सय ४० र तुलसीपुरमा पाँच सय ५८ कैदीबन्दी रहेका छन् । एक हजार ४३० कैदीबन्दी रहेको झापामा एक सय ४३ जनाले भोट हालेका थिए ।

नेपालका कारागारमा कति छन् कैदीबन्दी ? 

कारागार व्यवस्थापन विभागकाअनुसार कात्तिक मसान्तसम्म कैदीबन्दीको संख्या २७ हजार १४६ रहेको छ । तीमध्ये पुरुष कैदीबन्दीको संख्या २५ हजार ६९८ छ । त्यस्तै, एक हजार ४४८ महिला कैदी छन् । एक हजार ४०७ विदेशी कैदीबन्दी विभिन्न मुद्दामा सजाय काटिरहेका छन् । कारागारमा भारतीय कैदीबन्दीको संख्या उच्च रहेको विभागका महानिर्देशक पाण्डेले बताए । 

बालसुधार गृहका बालबालिका कति ? मुलुकभरका आठ वटा बालसुधार गृहमा एक हजार १७३ बालबालिका रहेका छन् । जसमध्ये एक हजार १३७ बालक र ३६ बालिका रहेको विभागले जानकारी दिएको छ । 

बालसुधार गृह, भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा, रुपन्देहीमा पाँच सय ४१ कैदी बालबालिका छन् । कैदी बालक पाँच सय ३२ र बालिका १७ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, थुनुवा बालबालिकाको संख्या ६ सय २४ छ । बालक ६ सय पाँच र बालिका १९ रहेको बताइएको छ ।
 

टिप्पणीहरू