गौतमश्रीले अझै फर्काएन बचतकर्ताको पसिनाको कमाइ

गौतमश्रीले अझै फर्काएन बचतकर्ताको पसिनाको कमाइ

काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हालसम्म पनि बचतकर्ताको रकम फिर्ता दिएको छैन । केही समय भागेर फेरि देखापरेका अध्यक्ष रामबहादुर गौतमले वचनअनुसार पैसा फिर्ता नदिँदा आफूहरू मर्कामा परेको पीडितहरूको गुनासो छ । गत साउनमा अध्यक्ष गौतमसहित सञ्चालकहरू वचतकर्ताको पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि पीडितहरूले सहकारी विभाग गुहारेका थिए । 

त्यस्तै, सहकारीको कार्यालय रहेको भवनमा एभरेष्ट बैंकले सूचना टाँससमेत गरेको थियो । उनी फरार भएको छरपष्ट भएपछि दुई छोरीले जसरी भए पनि रकम फर्काउने आश्वासन दिएका थिए । बाउचाहिँले भने गत साउन १७ गते विज्ञप्ति जारी गर्दै आफू काम विशेषले नेपाल बाहिर गएको र आएर सबै पैसा फिर्ता गर्ने बताएका थिए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ऋण असुली नहुँदा बचत फिर्ता गर्न नसकेको उनको भनाइ थियो । साउन २० गते उनी सार्वजनिक हुँदा वचतकर्ताले फूलमालासहित स्वागत गरेका थिए । 

एक पैसा पनि तलमाथि नहुने आश्वासनसहित सबैसँग भेटघाट गर्दै उनले भनेका थिए, ‘ढुक्क रहनुस, तपाईंहरूको एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तिर्छु ।’तर, झण्डै चार महिना बित्न लागिसक्दा पनि एक रूपैयाँसम्म फिर्ता गरेका छैनन् । गौतमको अनुहार नदेखेको महिनौं भइसकेको पीडितहरू बताउँछन् । ‘यत्रो महिना भइसक्यो,’ एक जना पीडितले बताए, ‘सहकारीमा गयो, कहिल्यै भेटिँदैनन् ।’

दशैं र तिहारमा सहकारीले आवश्यक परेकालाई कुपन सिष्टमबाट पाँच–पाँच हजार रूपैयाँ बाँडेको ती पीडितको भनाइ छ । अधिकांशले पैसा पाउने आशा मारिसकेको अर्का पीडित बताउँछन् । सहकारीसँग हिसाबकिताब माग गर्दा पनि देखाइएको छैन । उक्त सहकारीमा २५ हजारभन्दा बढी बचतकर्ताको रकम छ । गौतमले कार्यालय रहेको भवनमा विभिन्न स्टोर सञ्चालन गर्दै आएका छन् ।

– जीवन डाँगी

टिप्पणीहरू