के होलान् यो जीत र हारका कारण ?

के होलान् यो जीत र हारका कारण ?

आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतको अन्तरमा हराएर ओली, प्रचण्ड र माधव कमरेडले चुनाव जीतनुभयो । सबैलाई जीतको बधाई छ । तर, उहाँहरूका केही मुख्य विङ कमाण्डरहरूले भने हार सामना गर्नुप¥यो । यसको अलावा जनताले राम्रा भनेका अरू धेरै नहार्नुपर्ने वा भनौँ जीतनुपर्ने नेताहरूले पनि पराजय सामना गर्नुपरेको छ । आफू वामपन्थी भएको नाताले यो जीत र हारलाई भाग्य र विधाताको खेल भनेर अथ्र्याउने र मन बुझाउने कुरा भएन । हामीले हेर्ने भनेको त जीत र हारका विशिष्ट कारण हुन् । सर्सर्ती हेर्दा हारका मुख्य कारण भनेको तीनै दलका अध्यक्षहरूको अहं र तुष्टीकरणको राजनीति हो भन्ने देखिन्छ । तसर्थ चुनावमा यस्तो नतिजा आइलाग्नुमा अध्यक्षत्रय जिम्मेवार हुनुहुन्छ ।

धेरै नेता–कार्यकर्ताले शुरुदेखि नै एकता वा गठबन्धन वामपन्थी दलकै बीचमा हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आएको सर्वविदितै छ । तर, अहम्, रिस र एकले अर्कोलाई देखाइदिने मनसुवाले राम्रो र सही सल्लाह सुन्न र मान्नबाट रोक लगाउँछ, आखिर त्यस्तै भयो । थालमा पस्केको खाना हुरी आएर थाल नै घोप्ट्याइदिएजस्तै भयो । दुई तिहाइमा जीत हासिल गरेर समाजवादको जग बसाल्ने कामको नेतृत्व गर्न सक्ने अवस्थामा रहेका ओली, प्रचण्ड र माधव नेपाल कमरेडहरू सहज तरिकाले सत्ताको नेतृत्व गर्न पाउने ठाउँबाट विस्थापित हुन पुग्नुभएको छ, टालाटुली बटुलेर सरकारको नेतृत्व गर्न पाउने अवस्था बनेछ भने त्यो बेग्लै कुरा हो ।

कतिपय मानिस माओवादी र एसलाई ठेगान लाइयो भन्दै कराइरहेको सुनिन्छ । तर, तिनीहरूले के कुरा बुझिरहेका देखिन्नन् भने यो पराजयले ती दुई दललाई ठेगान लगाउने नभएर आमन्यायप्रेमी जनताका विकासका सपना, समृद्धिका सपना, रोजगारीका सपना, राम्रो शिक्षा र स्वास्थ्य सुविधाको सपना र समग्रमा न्याय, बराबरी र स्वतन्त्रताको सपनालाई ठेगान लाइदिने सम्भावनालाई पो बढाएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई अत्यधिक मतले हराएर विजयी हुने अध्यक्ष ओलीले लिएको गैरवामपन्थी गठबन्धन वा तालमेलको लाइन राम्रो हुन्थ्यो भने वा अध्यक्ष प्रचण्ड र अध्यक्ष माधव नेपालले लिएको लाइन सही थियो भने काठमाडौंमा ईश्वर पोखरेल, दाङमा शंकर पोखरेलहरूको पराजय किन हुन्थ्यो र ? पम्फा भुसाल र ओनसरी घर्तीहरूलाई असफलता किन मिल्थ्यो र ? अथवा जीवनराम र विरोध खतिवडाहरूको हार किन हुन्थ्यो र ? कसैसँग छैन यसको जवाफ ।

कस्तो अचम्म भयो भने धेरैजसो सार्वजनिक रूपमा कहीँ र कहिल्यै नाम नसुनिएका युवाहरू जसको राजनीतिक तथा वैचारिक बाटो के हो भन्नेसम्म थाहा छैन, जुन दलको मुखियाको विगत र आगत शंकास्पद देखिन्छ तिनीहरू जनताको नजरमा ठीक लाग्ने र तिनीहरूद्वारा मूर्धन्यहरूले पराजित हुनुप¥यो । यो धेरै गम्भीर विषय हो । खास कुरा के हो भने एमाले, माके र एसहरूले आफूहरूलाई पूर्ण लोकतन्त्रीकरण नगरिकन, जनताको मुद्दामा आफूहरूलाई केन्द्रिकृत नगरिकन, आर्थिक मामिलामा पारदर्शिता अवलम्बन नगरिकन र सही मानिसको सही मूल्यांकन र सही जिम्मेवारी प्रदान गर्ने काममा नलाग्दासम्म अब जनताको मत प्राप्त गर्न धेरै कठिन हुनेछ । यी जीतेर आएका नयाँ सदस्यहरूको अरू कुनै राजनीतिक मुद्दा नै छैनन् । यिनका ठुल्ठूला मुद्दा भनेका झिनामसिना पुलपुलेसा तथा भत्केका सडक पेटी बनाउने हुन्, अरु छैनन् भन्दा हुन्छ ।

समृद्धि र विकासको, शिक्षा, स्वास्थ्य र रोजगारको विषय यिनका शब्दकोशमै छैन । तैपनि, यिनले उल्लेख्य मत प्राप्त गरे र नेपालको राजनीतिक आन्दोलनमा पनि कुनै भूमिका नरहेका यी मुद्दाविहीनहरूद्वारा देशमा राजनीतिक क्रान्तिको, आन्दोलनको नेतृत्व गरेका, विकास र समृद्धिको मुद्दा बोकेका दलका हस्ती पराजित हुन पुगे । अपारदर्शी र ओँठे लोकतान्त्रिक चरित्र बोकेर राजनीतिको मुलढोका छेकी राजनीति गर्ने दिन अब सकिएकै हो ? यो यथार्थलाई आत्मसात् गर्नुपर्छ । सबैको योगदानको समान कदर गर्दै ठीक व्यक्तिलाई ठीक समयमा, ठीक ठाउँ दिन अब चुक्नुहुन्न । टुटफुट र विग्रहको जड नै यहीँनिर छ ।

धेरैलाई लागेको थियो कि माके र एस अनि लोसपाको भोट कांग्रेसमा मिसिएपछि एमालेको पत्तासाफ हुनेछ भनेर । तर, त्यस्तो भएन । र, एमालेले पनि राप्रपा तथा अन्य दलको सहयोगमा चुनाव जीतने सपना देखेको थियोे । तर, यो पनि पूरा भएन । राजनीतिमा यसरी हिसाब निकाल्छन्– दुईवटा दल मिल्दा दुई हुन्छ तर एउटा दल फुटेर दुईवटा बन्दा एक माइनस एक एघार हुन्छ । नेकपा फुट्दा पनि साइज घट्यो र एमाले फुट्दा साइज नै घट्यो । यो फुटमा वामपन्थीलाई एघार एघार गरेर बाइस क्षति हुन पुग्यो र कांग्रेसलाई यसको फाइदा पुग्न गयो । र, सबैभन्दा ठूलो घाटा भने जनतालाई हुनेवाला छ । भनाइ नै छ कि कुनै नयाँ कुराको प्रयोग गर्नुलाई नराम्रो भन्न सकिन्न ।

प्रयोग हो सामान्य त्रुटि हुन सक्छ वा कमजोरी पनि हुन सक्छ । तर, जब आफूले गरेको प्रयोग असफल हुन्छ र त्यो कुरा थाहा पाइन्छ, तैपनि त्यसलाई करेक्सन गरिन्न भने त्यो गल्ती हुन जान्छ वा ब्लण्डर पनि साबित हुन सक्छ । फुटपछि गठबन्धनको प्रयोग त्रुटिपूर्ण प्रयोग भएको कुरामा अब कुनै शंका रहेन । तर, यो त्रुटिलाई करेक्सन गरिएन भने त्यो ब्लण्डर साबित हुनेछ । किनभने सत्ता बाहिरको कांग्रेस र सत्तामा हुँदाको कांग्रेस कस्तो हुन्छ भन्ने कुरा बताइरहन नपर्ला ! त्यसकारण ओली, प्रचण्ड र माधव कमरेडहरूले आफूमा रहेका कमजोरी नसच्याउने र नयाँ नेतृत्व विकासमा नलाग्ने हो भने भोलिको राजनीति धेरै कठिनाइयुक्त हुनेमा दुई मत छैन । कमरेडहरूले आफ्नो निम्ति नभएर भावी पुस्ताको भविष्यलाई ध्यानमा राखेर एकताबद्ध पार्टी बनाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काममा लाग्नुको विकल्प छैन । अब उहाँहरूले समयको माग र चापलाई स्विकार्नुपर्छ । त्यो भनेको वामपन्थी दलहरूको एकता गरेर अर्को पुस्तालाई नेतृत्वमा स्थापना गर्ने हो ।

अत्यमा, मेरो बुझाइमा अध्यक्ष ओलीले राजनेता बन्ने ऐतिहासिक अवसर गुमाएकै हो । अध्यक्ष प्रचण्डको क्रान्तिकारी छविमा दाग लागेकै हो भने अध्यक्ष माधव नेपालको पनि समन्वयकारी नेताको पहिचान गुमेकै जस्तो अवस्था छ । अरु ईश्वर, शंकरहरूले पनि आ–आफ्नो भूमिका प्रभावकारी तरिकाले निभाउन नसकेकै हो । घनश्याम, भीम रावलहरू त भूमिका शून्य नै बनाइएकै थिए । तर, अब विगत कोट्याएर समय खेर फाल्ने काम गर्नु हुँदैन । नारायणकाजीले भनेजस्तो अहिलेको यो पराजयको आँधीलाई दलको सफाइ गर्नमा प्रयोग गरियो भने गल्ती सच्चिएर जानेछ र बिग्रिएको राजनीति नयाँ शिराबाट उठ्न सक्छ तर सच्चिन सकिएन भने सबैको अस्तित्व समाप्त हुने कुरामा पनि दुई मत छैन । अतः सक्किने कि सच्चिने? आजको दिनको तोलाको प्रश्न यही नै हो ।
 

टिप्पणीहरू