त्याग गर्न १ नम्बरमा को हुने तयार ?

त्याग गर्न १ नम्बरमा को हुने तयार ?

प्रतिनिधि तथा प्रदेश सभामा आफ्ना प्रतिनिधिलाई जनताले अनुमोदन गर्न गाह्रो मानेको अवस्थाबारे निर्मम विश्लेषण गर्न सबै वामपन्थी अघि सर्नुपर्ने भएको छ । अहिलेसम्मको परिणाम र रुझानलाई हेर्दा व्यक्तिगत अहंकार, मनोगत विश्लेषण आदिलाई त्यागेर सैद्धान्तिक र वैचारिक अनि राजनीतिक धरातललाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिन्छ । यसो गर्दा भत्किएको नेपाल कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्न सबै अग्रसर हुनुपर्ने सन्देश पाइनेछ ।

देश र जनताको लागि अन्य लोकतान्त्रिक दलभन्दा वामपन्थी उम्दा ठहरिन सक्छन् भन्ने मान्यता अझै पनि बलियो छ । खसेको समानुपातिक मतलाई एक गठ पार्दा विभाजित वामपन्थी मततर्फ नै बढी देखिन्छ । प्रत्यक्षतर्फ विजयी बनेका, बन्नै लागेका र पराजित उम्मेदवारहरूको फरक मतलाई हेर्दा पनि वामपन्थीहरू एकजुट भएको अवस्थामा देशको कायापलट गर्न सक्ने रहेछन् भन्ने नै देखिन्छ । तर यसका लागि नेपालका वामपन्थीहरू अहिलेसम्म तयार भएको पाइन्न । यसले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने, वामपन्थीको सरकार बनाएर देशमा विकास र समृद्धि ल्याउने दाबालाई हावादारीबाहेक अर्थोक केही सावित गर्दैन ।

गल्ती हुन्छन्, त्यसलाई स्वीकारेर सच्याउँदै अघि बढ्नुपर्ने संकेत अहिलेको जनमतले दिएको छ । वामपन्थी एकजुट हुँदा जनतामाझ जाने सकारात्मक सन्देशले अलग्गै प्रभाव छाड्छ । तर, यसका लागि पुराना पुस्ताका सबै नेताले नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्छ र नेतृत्व लिनका लागि नयाँ पुस्ता पनि कस्सिन सक्नुपर्छ । दास मनोवृत्ति त्याग्दा, नयाँ राजा हुने सोच फाल्दा यो कुरा सम्भव छ । 

हुन त नेपालका कम्युनिष्ट भात पकाउञ्जेलसम्म एकजुट हुने, भात पस्केर खाने बेला भाँडो घोप्टयाएर हिँड्ने व्यहोराका हुन्छन् भन्ने कथन छ । पाँच वर्षअघि यस्तो कथनकाविरुद्ध नेपालमा ५०सौं वर्षसम्म वामपन्थीहरूले शासन गर्छन् भन्ने आशा पलाएको थियो । तर, त्यो आशा र अपेक्षा निमेष भरमै सकियो । वामपन्थीका सुन्दर सपना र जनताका भविष्य डामाडोल हुन पुगे । तैपनि, वामपन्थी दल र तिनका नेतालाई जनताले उपेक्षा गरिहालेका छैनन् बरु आशावादी छन् भन्ने अहिलेको परिणामले देखाएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलगायत अन्य साना वामपन्थी दलले पाएको मतले यसैलाई प्रष्ट रूपमा देखाएको छ । 

अब खाँचो छ इच्छाशक्तिको, एकापसको वैरभाव त्यागेर अंकमाल गर्न अघि सर्ने अवस्थाको, सबै खाले तिक्ततालाई बिर्सेर नयाँ शिराबाट एकजुट हुनुको । तर, यसका लागि आदरणीय उमेर पुगेका, डुब्नै लागेका घामहरूले आपूmलाई राजनीतिबाट पूरै अलग राख्नु पर्दैन, ‘सर्वमान्य वामपन्थी नेता’को रूपमा आपूmलाई स्वीकार गर्न अघि सरे पुग्छ । यो नेताहरूको त्याग मात्र हुने छैन, बरु वामपन्थी आन्दोलनलाई एउटा सुन्दर उपहार हुनेछ । के यसका लागि केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र चित्रबहादुर केसीहरू तयार हुनुहुन्छ ? आगे तपाईंहरूकै मर्जी, किनभने इतिहासले कसैलाई पनि छाड्दैन, त्यसको उचित मूल्यांकन गरेरै छाड्छ ।
 

टिप्पणीहरू