राजधानीमै बदर मतको बाढी

राजधानीमै बदर मतको बाढी

मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उपत्यकामा समेत धेरै मत बदर भएको छ । निर्वाचन आयोगले बदर मत रोक्न मतदाता शिक्षाको अभियान चलाए पनि त्यसले खासै प्रभावकारी भूमिका निर्वाह गरेको नदेखिएको बताइन्छ ।

उपत्यकामै धेरै मतपत्र बदर भएकाले दुर्गमको अवस्था झन् भयावह हुनु स्वभाविक हो । मत कस्तो अवस्थामा बदर हुन्छ भनेर मतदातालाई बेलैमा सिकाउन नसक्दा बदर मतको संख्या घट्न नसकेको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा बदर मतपत्रको संख्या उच्च पाइएको छ । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा कूल मतदाता संख्या ६ लाख ५२ हजार १२६ छ । यहाँ जम्मा ४ लाख १६ हजार ९३५ मत खसेको थियो । तीमध्ये ४ लाख ४७५ मत सदर र १६ हजार ३४० मत बदर भएको छ । 

त्यस्तै, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका १० वटा निर्वाचन क्षेत्रमा ४ लाख १६ हजार ५५२ मत खसेको थियो । सोमध्ये ४ लाख ३ हजार १०४ मत सदर र १३ हजार १९५ मत बदर भएको छ ।  प्रतिनिधि सभा समानुपातिकतर्फ काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् । ४ लाख १७ हजार ९०६ मतदाताले मत खसाले । तीमध्ये ४ लाख ५ हजार ३५४ मत सदर भएको छ । १२ हजार १७६ मत बदर भएको देखिन आएको छ ।
 
प्रदेश सभा समानुपातिकतर्फ ४ लाख १५ हजार ५६० मतदाताले मतदान गरेका छन् । मतदाताको संख्या ६ लाख ५२ हजार १२६ थियो । ३ लाख ९१ हजार ६३४ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले जनाएको छ । २३ हजार ३०८ मत बदर भएको हो ।

यता, तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा मतदाता संख्या २ लाख ५० हजार ४१० रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७४ हजार ३९७ मतदाताले मतदान गरेका हुन् ।  निर्वाचन क्षेत्र नम्बर २ मा ८१ हजार ८९७ ले मतदान गरे । निर्वाचन क्षेत्र नम्बर ३ मा ९४ हजार ११६ मतदाताले भोट हालेको जिल्ला निर्वाचन कार्यालय, ललितपुरले बताएको छ । क्षेत्र नम्बर १ मा ३ दशमलब ५६ प्रतिशत मत बदर भएको छ । क्षेत्र नम्बर २ मा २ दशमलब ७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नम्बर ३ मा बदर मत ३ दशमलब ६८ प्रतिशत रहेको पाइएको छ । 

कार्यालयकी अधिकृत सरस्वती शर्माले गत कात्तिक १६ गतेदेखि १५ दिनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । महानगरपालिकाका ७१ वटा वडामा ७१ जना स्वयमसेविका खटाइएको उनी बताउँछिन् । 

मतदाता शिक्षाका कारण पहिलेभन्दा एक हदसम्म बदर मतको संख्या कम रहेको उनको दाबी छ । ‘पहिलेभन्दा बदर मतको संख्या घटेको छ । मतदाता शिक्षालाई प्रभावकारी नै मान्नुपर्यो ।’ भक्तपुर सबैभन्दा सानो जिल्ला भए पनि त्यहाँ मतपत्र बदर संख्या उच्च देखिएको छ । भक्तपुरमा जम्मा दुई वटा निर्वाचन क्षेत्र छन् । कूल मतदाता संख्या एक लाख ९४ हजार ४३९ रहेको जिल्ला निर्वाचन कार्यालय, भक्तपुरले जनाएको छ । 

हालैको निर्वाचनमा एक लाख ३९ हजार ४४१ मतदाताले भोट खसाले । तीमध्ये एक लाख ३५ हजार ४०२ मत सदर भएको छ । त्यस्तै, चार हजार ३९ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्क छ । यस्तै, प्रदेश सभा निर्वाचनमा चार निर्वाचनक्षेत्र छन् । कुल मतदाता संख्या १ लाख ९४ हजार ४३९ छ । सो क्षेत्रमा १ लाख ४४ हजार ३९ मतदाताले मतदान गरेका थिए । त्यस्तै, १ लाख ३६ हजार ३१४ सदर मतपत्र रहेको छ भने २ हजार ९९२ मत बदर भएको देखिन आएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ दुई क्षेत्र छन् । जहाँ १ लाख ३८ हजार ९६२ मत खसेको छ । त्यसमध्ये १ लाख ३५ हजार ७०१ मत सदर छ भने २ हजार ९६१ मत बदर भएको छ ।  प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि १ लाख ३७ हजार ७६८ मतदाताले मतदान गरेका थिए । तीमध्ये १ लाख ३३ हजार १५७ मत सदर रहेको छ भने ४ हजार ६११ मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालय, भक्तपुरका सूचना अधिकारी भीमबहादुर विष्टले बदर मतको संख्या पहिलेभन्दा एक हदसम्म कम भएको जानकारी दिए । तरपनि खासै प्रगति हुन नसकेको उल्लेख गर्दै भक्तपुरमा महिला स्वयंमसेविकालाई खटाएर मतदाता शिक्षा दिइएको दाबी गरेका छन् ।

टिप्पणीहरू