सरकारी सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारी सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभरका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयले सम्पूर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनमा अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । 

यातायात व्यवस्था विभागले आउँदो फागुन मसान्तसम्म अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने सूचना जारी गरेको छ ।

‘मन्त्रालयले मिति २०७९–७–२८ गते प.स. २०७९–८० च.नं.२.१–५३७ बाट सम्पूर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जोडिसक्नुपर्ने निर्णय गरेको हो’, सूचनामा भनिएको छ ।

विभागको वेबसाइटमा गएर ईम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिनुपर्नेछ । त्यसपछि नजिकको यातायात व्यवस्था कार्यालयमा गई तोकिएको राजस्व तिरेर नम्बर प्लेट जडान गर्न सकिने विभागले जनाएको छ । 

काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा राजस्व बुझाएर विभागको कार्यालय, मीनभवनबाट नम्बर प्लेट लिनुपर्नेछ ।

टिप्पणीहरू