यी हुन् २०९ मतभन्दा कम्ति मतले पराजित पाँच उम्मेदवार

यी हुन् २०९ मतभन्दा कम्ति मतले पराजित पाँच उम्मेदवार

यस पटकको निर्वाचनमा तीन सयभन्दा कम मतले पराजित हुने उम्मेदवारको संख्या पाँच पुगेको छ । तर ती सबै फरक फरक प्रदेशका हुन् । 

लुम्बिनी प्रदेश

एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भएका छन् । दाङ–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका हुन् ।

शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए । तर, उनै पोखरेललाई दाङवासीले पत्याइदिएनन् ।

बाग्मती प्रदेश

काठमाडौं १ मा रविन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो । नेपाली काँग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई जम्मा १३२ मतले पराजित गरेका हुन् । भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका सिंहले अघिल्लो निर्वाचनमा पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए । 

प्रदेश १ 

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भएका छन् । उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोकेका थिए । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत मात्र ल्याए ।

मधेस प्रदेश

एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन् । गुप्ताले नेपाली काँग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गरेका हुन् । गुप्ताले २४ हजार २६० मत प्राप्त गर्दा चौधरीले २४ हजार १९ मत ल्याएका छन् ।

कर्णाली प्रदेश

दैलेख २ मा नेपाली काँग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई १३५ मतले हराए । काँग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका हुन् । शाहीले २० हजार १५८ मत ल्याउँदा निकट प्रतिस्पर्धी पोखरेल २० हजार ५ मतमा सीमित भए ।

टिप्पणीहरू